
चितवन, वैशाख १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका केही मन्त्रालय, राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय र प्रदेश प्रहरीको हेडक्वाटर चितवनमा राख्ने निर्णय भएको खुलासा गरेका छन् ।
बुधबार बिहान प्रेस सेन्टर चितवनले भरतपुरमा आयोजना गरेको विकास र समृद्धि बारेको अन्तर्क्रियामा उनले चितवन देशको केन्द्र भागमा रहनुको साथै प्रशस्त सम्भावना भएकोले केन्द्रीय तथा प्रदेश कार्यालयहरु रहने बताए ।
‘राष्ट्रपति चुरे संरक्षण भनेको एउटा ठूलो परियोजना हो, त्यसको केन्द्रीय कार्यालय भरतपुरमा राख्ने समझदारी भईसकेको छ,’ उनले भने, ‘प्रदेश प्रहरी हेडक्वाटर पनि चितवनमा राख्ने निर्णय भईसकेकाले चितवनमा विकासको लहर आउने छ ।’
अध्यक्ष दाहालले चितवनमा लगानी गर्नका लागि अहिले देशका उद्योगी र विदेशी लगानीकर्ताहरु इच्छुक रहेको भन्दै चितवनमा विकासको गति अघि बढिसकेको बताए । ‘अहिले चीन पनि चितवनमा लगानी गर्न इच्छुक छ, मसँगको कुराकानीमा करिव २५ वटा उद्योग चितवनमै खोल्ने प्रतिवद्धता जनाएका छन्,’ उनले भने ।
उनले चितवनलाई केन्द्र बनाएर वृहत्तर रुपमा विकास गर्नुपर्ने बताए । चितवनको विकासले देशव्यापी प्रभाव पार्ने भएका कारण नयाँ मोडालिटीका आधारमा विकासको योजना ल्याउन लागिएको उनको भनाइ थियो ।
नवलपुर, मकवानपुर, धादिङ र भारतलाई समेत समेटेर विकासको मोडेल तयार गर्नुपर्ने उनले बताए । ‘एकीकृत रुपमा विकासको मास्टार प्लान बनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि छिमेकी जिल्लासँग पनि छलफल भईरहेको छ ।’
बजेट तयारी, ऐन कानुन निर्माण र अध्यादेश टुंंग्याउने तयारीमा सरकार र पार्टी लागेको भन्दै नयाँ बजेटमार्फत जनताका सबै माग सम्बोधन हुने उनले दावी गरे ।
निर्वाचनमा स्थायित्व र विकासको नाराका कारण नै वाम गठबन्धनले बहुमत प्राप्त गरेकोले नयाँ सरकारको ध्यान त्यसैमा केन्द्रीत बनेको उनको भनाइ थियो ।
उनले सिंगो राष्ट्र विकासको अभियानमा जुटेको भन्दै कृषि र पर्यटनमार्फत देशलाई समृद्ध बनाउने बताए । ‘चितवन विकासका लागि उदाहरण हुन सक्छ,’ उनले भने, ‘यहाँ प्राकृतिक स्रोत साधन र भौगोलिक विविधता छ, निकञ्ुज, नारायणी, राप्ती, रिउ सम्भावनाका उदाहरण हुन्, यिनलाई प्रयोग गरी समृद्धि हासिल गर्न सकिन्छ, यसका लागि चुनौती पनि छन् ।’
अध्यक्ष दाहालले आफू प्रत्येक पटक चितवन आउँदा कुनै न कुनै ठाउँ जाने गरेको भन्दै रिल्याक्स गर्न नभई विकासको योजना बनाउन कुरामा केन्द्रीत बनेको बताए । उनले नयाँ बजेट अघि नै हुलाकी राजमार्ग, शारदानगर चनौली सडक र विभिन्न दश भित्री सडकहरुमा चालु बजेटबाट रकम निकासा गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्