
गत चैत ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा तत्काल महासमिति बैठक बोलाउनुपर्ने दबाब दिइएपछि जारी बैठकले नै महासमिति बैठकको मिति र स्थान तय गर्ने तयारी गरेको हो ।
बैठकबाट रिक्त पदाधिकारी मनोनयन भने नहुने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउने तयारी नगरेकाले पदाधिकारी मनोनयन नहुने भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको बैठक सकिएको केही दिनभित्रै पदाधिकारी मनोनयन हुने बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकमा पनि केन्द्रीय सदस्यहरुले निर्वाचनमा पार्टी पराजित हुनुको कारण र आगामी कार्यदिशाबारे आ–आफ्ना धारणा राखे ।
बैठकमा केन्द्रीय सदस्य विमलेन्द्र निधि, महेश आचार्य, शंकर भण्डारी र विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका हुन् ।
बैठकमा प्रवक्तासमेत रहेका शर्माले पार्टी सुदृढीकरणका लागि १३ बुँदे लक्ष्य प्रस्तुत् गरेका थिए ।
निर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्न चैत ९ गतेदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक एक–अर्काप्रति आरोप–प्रत्यारोपमै केन्द्रित भएको छ ।
प्रतिक्रिया दिनुहोस्