वाम एकता जनताको साझा सम्पत्ति : दाहाल • Image Khabar Image Khabar


वाम एकता जनताको साझा सम्पत्ति : दाहाल


Imagekhabar
१३ बैशाख २०७५, बिहीबार ११:१४

वाम एकता जनताको साझा सम्पत्ति : दाहाल

गौर, वैशाख १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।

बिहीबार रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष दाहालले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ ।’

उनले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै उनले भने, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६/७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’

शुक्रबार दुबै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने अध्यक्ष दाहालको भनाइ थियो ।

उनले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरे ।

अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्