२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सर्लाहीमा उखु खेती विस्तार गरिएपछि गहुँ उत्पादन घट्यो


0
Shares

सर्लाही, बैशाख १२ । सर्लाहीमा यस वर्ष गहुँ उत्पादन घटेको छ । उखु खेती विस्तार भएकाले गहुँ खेतीको क्षेत्रफल घटेको र त्यसको असर उत्पादन परेको बताइएको छ ।

गत चैत १५ गते परेको असिनापानीले पनि गहुँबालीमा क्षति पुग्दा उत्पादन कम भएको हो ।

बलरा नगरपालिकाअन्तर्गत गर्ने हथियौल, मिर्जापुर, सुदामा, छतौनालगायत गाउँमा असिना पानीले घर भित्र्याउने बेला भएको गहुँ पूर्ण रुपले नष्ट पारेको स्थानीय किसान रविन्द्र महतोले बताए ।

२४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गहुँ खेती भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत काशिराज हमालले जानकारी दिए ।

उनका अनुसार गत वर्षभन्दा एक हजार हेक्टर कम क्षेत्रफलमा गहुँ खेती भएको प्रारम्भिक जानकारी आएको छ । उखु खेतीतर्फ किसान आकर्षित भएकाले गहुँ खेतीको क्षेत्रफल घटेको हमालले बताए ।

यस्तै यस वर्ष आकासे पानी पर्याप्त नपरेका कारण पनि गहुँमा फल कम लागेको किसानले बताएका छन् ।

यस वर्ष ६५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष ७० हजार मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो ।