सुजन काफ्ले (इमेज)
दोलखा, मंसिर १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारका मन्त्रीहरुको विदेश जाने होडबाजीका कारण विकास निर्माणमा ढिलाइ भएको टिप्पणी गरेका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिताको शनिबार उद्घाटन गर्दै अध्यक्ष दाहालले जुन गतिमा विकास हुनुपर्थ्यो, त्यसमा ‘ब्रेक’ लागेको बताए ।
उनले नेताहरुमा पनि विदेश भ्रमणको मोह देखिएको उल्लेख गरे ।
यद्यपि, वर्तमान सरकारले लोकप्रिय कार्य गरेको भन्दै उनले सरकारको कामको बचाउ गरेका थिए ।
दुई पार्टीको मिलनबाट प्रतिक्रियावादीहरु आतंकित भएको भन्दै अध्यक्ष दाहालले पार्टी एकीकरणका काम तत्काल टुंग्याएर विकासमा ध्यानकेन्द्रित गर्ने स्पस्ट पारे ।
तीन महिनाभित्र पार्टीको तल्ला कमिटीसम्म एकता गरिसक्ने तय गरिएपनि प्राविधिक कारणले ढिलाइ भएको जिकिर उनले गरे ।
‘कमिटी बनाउन विवाद, झमेला भएर ढिलाइ भएको होइन’– उनले भने–‘थोरै ढिलो भयो । नमीठो त भएको छ । तर, विवाद छैन ।’
यही मंसिर ६ गते पार्टीको सचिवालय बैठकमार्फत् प्रदेश कमिटी, केन्द्रीय समितिको विभाजन र जिल्ला कमिटीको पदाधिकारी टुंग्याउने उनको भनाइ थियो ।
दाहाल हेलिकोप्टरमा सवार भइ दोलखा आएका थिए ।
अध्यक्ष दाहालका छोरा स्व. प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले प्रतियोगिता आयोजना गरेको हो ।
फुटबल प्रतियोगितामा दोलखासहित देशभरका ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्