३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


‘हामी यता ढल्किने र उता ढल्किने गर्दैनौं’, प्रधानमन्त्रीले चीन भ्रमणबारे संसदमा के भने ?


0
Shares

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको ६ दिने औपचारिक चीन भ्रमणकाबारेमा जानकारी दिँदै उनले सरकारको प्रमुख कार्यसूचीकारुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको जानकारी दिए ।

भ्रमणकाक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, समकक्षी ली खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भेटवार्ता भएको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको दिशामा भ्रमणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा दुई पक्षबीच सहमति भएको जानकारी दिँदै उनले रेलमार्ग, सडक सञ्जालको विस्तार, प्रसारणलाइनलगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको चर्चा गरे ।

उनले रेलमार्ग निर्माणसम्बन्धी सहमति महत्वपूर्ण रहेको उल्लेख गरे ।

चिनियाँ अनुदानमा केरुङ–काठमाडौं रेलमार्ग अगाडि बढ्ने र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणसमेत अगाडि बढ्ने विश्वास बढेर गएको प्रधानमन्त्रीले जानकारी दिए ।

स्थल तथा हवाई सञ्जालको विस्तार गर्न, उत्तर दक्षिण सम्पर्क सञ्जाल विस्तारमा सहमति भएको उल्लेख गर्दै उनले कोसी, गन्डकी र कर्णाली आर्थिक करिडोर निर्माण गर्ने विषयमा सहमति भएको, रसुवागढी–गल्छी ४०० केभी प्रसारणलाइन निर्माण, सन् २०१९ को मेसम्म तातोपानी नाका खोल्ने, रसुवागढी सडकखन्डको विस्तार, पेट्रोलियम पदार्थको खोज तथा अनुसन्धानमा सहयोग गर्नसमेत नेपाल र चीनबीच सहमति भएको सदनलाई जानकारी दिए ।

यस्तै, कृषिउपजको निर्यातका लागि अत्याधुनिक क्वारेन्टाइन स्थापना, चीनका विभिन्न सहरमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति भएको उल्लेख गर्दै उनले ‘थप छात्रवृत्ति उपलब्ध गराउने र मानवस्रोतको विकासमासमेत चीनले सघाउने भएको छ’–भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिँदै उनले आफ्नोतर्फबाट प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्ता दिएको उल्लेख गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षकारुपमा मनाउने लक्ष्य राखेको सम्बन्धमा चीन सरकारले सो कार्यका लागि सहयोग उपलब्ध गराउने र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने विषयमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्रीले स्पस्ट पारे ।

नेपाल र चीनबीच भएका सहमतिको कार्यान्वयनका लागि तिब्बत सरकारले सबै तरहले सहयोग गर्ने आफूलाई तिब्बत सरकारका प्रमुखले वचनबद्धता जनाएकोसमेत प्रधानमन्त्रीले सदनलाई जानकारी दिए ।

नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच उच्चस्तरीय संयन्त्र स्थापना र तीन अर्ब युयान सहयोग उपलब्ध गराउने सम्बन्धमा भएको विगतको सहमतिका आधारमा थप एक अर्ब युयान उपलब्ध गराउने सहमति भएको उनको भनाइ छ ।

कृषि, जलविद्युत्, सन्चार–प्रविधि तथा सडक सञ्जाल तथा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै उनले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको र दुई देशबीचको सम्बन्ध विस्तारमासमेत नयाँ आयाम खडा भएको स्पस्ट पारे ।

चीन भ्रमणअघि पनि आफूले सदनलाई जानकारी गराएको भन्दै प्रधानमन्त्रीले सोचेभन्दा बढी सफलता भ्रमणपछि प्राप्त भएको बताए ।

छिमेकी मुलुकको सहयोग सद्भाव तथा सहयोगलाई अगाडि बढाउने, पारस्परिक हितका आधारमा सम्बन्ध अगाडि बढाउने लक्ष्यमा सफलता हासिल भएको भन्दै उनले नेपालको विकास नेपाली आफैंले गर्नेतर्फ पनि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले भ्रमणकाक्रममा चीन सरकारले नेपाली प्रतिनिधिमन्डललाई प्रदान गरेको आतिथ्यताकोसमेत प्रशंसा गरे ।

हामी छिमेकीविरुद्ध प्रयोग हुने, एक–अर्काविरुद्ध अर्को ‘कार्ड’ प्रयोग गर्ने भन्नेमा नरहेको, विकासका प्रयासमा छिमेकीलाई साथै लिएर अगाडि बढ्ने र उनीहरुको प्रगतिबाट लाभ लिने, उनीहरुको जायज चिन्ता र चासो एवं संवेदनशीलतालाई हामीले बुझेको उनले स्पस्ट पारे ।

प्रधानमन्त्रीले भने–‘हामी बाहिर र भित्र फरक–फरक कुरा गर्दैनौं । हामी यता ढल्किने र उता ढल्किने गर्दैनौं । पञ्चशीलका आधारमा, पारस्परिक लाभ र हितका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्छौं । हामी शान्ति र समझदारीका पक्षमा छौं । हामी तनाबको पक्षमा होइन, शान्तिको पक्षमा छौं ।’

हामी तीव्र विकासको पक्षमा रहेको भन्दै प्रधानमन्त्रीले छिमेकीको प्रयास र सामर्थ्यलाई साथमा लिएर अगाडि बढ्न चाहेकाले चीन भ्रमण सफल, एवं सकारात्मक तथा आपसीहित अभिवृद्धिका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले सरकारी तवरमा १४ र निजी तवरमा ८ ओटा गरी २२ ओटा विषयमा सहमति भएको जानकारी दिँदै व्यापार तथा पारवहनका विषयमा सन् २०१६ मा भएको सहमतिका आधारमा नै अगाडि बढेको र बाँकी रहेका विषयमा आगामी जुलाईमा पावरवहन ‘प्रोटोकल’मा सहमति हुने जानकारी दिए ।

नेपाल र चीनले संयुक्तरुपमा जारी गरेको संयुक्त वक्तव्यमासमेत पारवहनसम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने उल्लेख रहेको चर्चा गर्दै प्रधानमन्त्रीले नेपालको सीमाको उल्लंघन हुन नदिइने स्पस्ट पारे ।

कतिपय सीमाका विषयमा मन्त्रालयगत अध्ययन गर्न बाँकी रहेको जानकारी दिँदै उनले भारत भ्रमणकाक्रममा भएका सहमति कार्यान्वयनमा गएको, विराटनगरको भारतीय दूतावासको सम्पर्क कार्यालय हटिसकेको, रेलमार्ग निर्माण गर्न सर्वेक्षणका लागि टोली आएको बताए ।

आफूले चीन भ्रमणकाक्रममा गरेको प्रतिबद्धता केही समयभित्र कार्यान्वयनमा जाने र त्यसको परिमाणसमेत देखिने प्रधानमन्त्रीको भनाइ थियो । रासस