नारायणगढ–मुग्लिन सडकको लागत तीन अर्ब • Image Khabar Image Khabar


नारायणगढ–मुग्लिन सडकको लागत तीन अर्ब


Imagekhabar
१४ बैशाख २०७५, शुक्रबार १९:००

नारायणगढ–मुग्लिन सडकको लागत तीन अर्ब

निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य रु ३१ करोड ५२ लाख ६ हजार १८१ ले बढेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालकाअनुसार सुरुमा रु दुई अर्ब ८८ करोड ७० लाख १४ हजार २१० मा ठेक्का दिइएको सो सडकको लागत मूल्य बढेसँगै रु तीन अर्ब २० करोड २२ लाख २० हजार ३९१ पुगेको छ ।

खनालकाअनुसार तीन भागमा विभाजन गरेर ठेक्का दिइएको उक्त सडकखन्डको पहिलो खन्डको करिब रु ६० करोड ६१ लाखबाट बढेर करिब रु ६८ करोड ९७ लाख पुगेको छ ।

खन्ड ‘ख’मा करिब रु ९७ करोड ६७ लाखबाट वृद्धि भएर करिब रु एक अर्ब १० करोड र खन्ड ‘ग’मा सबैभन्दा बढी करिब रु एक अर्ब ३० करोडबाट बढेर करिब रु एक अर्ब ४१ अर्ब पुगेको खनालले बताए ।

एक वर्षभन्दा बढी समय थपिनु, निर्माण सुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु र कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो ।

आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीकाअनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पर्खाल लगाउने काम, बोलपत्रभन्दा स्तरीय नाली निर्माण र कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो ।

लागत मूल्य बढेसँगै प्रगति प्रतिशत भने घटेको छ । हालसम्म सडकको काम ८० प्रतिशतमात्रै सम्पन्न भएको देखिन्छ ।

यसअघिको कुल लागत मूल्यका आधारमा ९० प्रतिशत काम भएपनि लागत मूल्य बढेपछि प्रगति प्रतिशत घटेको हो ।

हालसम्म पहिलो खन्डमा ७९.७५ , दोस्रो खन्डमा ९१.०० र तेस्रो खन्डमा ७७.८ प्रतिशत काम सम्पन्न भएको छ ।

३३.२ किमिको उक्त सडकखन्डको हालसम्म ३० किमि कालोपत्रे भइसकेको छ ।

सो सडकको नारायणगढबाट १६ किमिसम्म ११ मिटर फराकिलो कालोपत्रे गरिँदैछ भने त्यसउता ९ मिटर फराकिलो हुँदैछ ।

वि.सं. २०७२ वैशाखतिर २४ महिनामा सक्नेगरी सो सडक ठेक्का दिइएको थियो ।

लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्