
तेह्रथुम, बैशाख १६ । तेह्रथुमका चिया किसानले चिया खेतीको विकास र विस्तारसँगै बजारीकरणका लागि नीतिगत सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
किसानले आफूहरुले उत्पादन गरेको हरियो चियापत्तीको मूल्यवृद्धि गर्नुपर्ने, चिया खेतीमा अनुदान र विना धितो ऋणको व्यवस्था गर्नुपर्ने, अग्र्यानिक प्रमाणीकरण र निकासीका लागि बजार खोज गर्न सहयोग गर्नुपर्नेलगायत माग गरेका हुन् ।
उनीहरुले चिया बगान क्षेत्रमा काम गर्ने मजदुरको पारिश्रमिक, स्वास्थ्य सुरक्षा र व्यवसायजन्य जोखिमका विषयमा समेत जानकारी गराउँदै बिमा र उपचार खर्चमा सहुलियत उपलब्ध गराउन माग गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा जिल्ला चिया उत्पादक सहकारी संघले सदरमुकाम म्याङलुङमा गरेको ‘स्थानीय तह र सरोकारवालासँगको नीतिगत बहस’ कार्यक्रममा सहभागी चिया किसान, व्यवसायी र मजदुरले आ–आफ्ना समस्या राख्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्