
काठमाडौं, बैशाख १६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।
पार्टी कार्यालय सानेपामा बस्ने आजको बैठकमा महामन्त्री शशांक कोइरालाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसअघि हिजोको बैठकमा महामन्त्रीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको भए पनि प्रतिवेदनका विषयमा सहमति जुट्न नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको थियो ।
प्रतिवेदनमा सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले चुनावी हारमा सभापति शेरबहादुरलाई जिम्मेवार नठहर्याउने प्रतिवेदनप्रति तीव्र असन्तुष्टि जनाइरहेका छन् ।
उनीहरुले चुनावी हारमा सभापति देउवाले जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन् ।
तर देउवा पक्ष भने चुनावी हारमा दुई कम्युनिस्ट पार्टीको गठबन्धनलाई दोष दिएर पन्छिन खोजेको छ ।
चुनावी हारको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने, विधान संशोधनको विषय तथा आगामी रणनीति तय गर्न भन्दै बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले शुक्रबार नै आफ्नो धारणा राखिसकेका छन् ।
गत चैत ९ देखि जारी बैठकमा झन्डै ७० जनाले आफ्नो धारणा राखेका थिए ।
हिजो नै पदाधिकारीले पनि जवाफ दिएर बैठक अन्त्य गर्ने बताइए पनि सहमतिका लागि आजसम्म समय बढाइएको थियो ।
बैठकमा उठेका धारणालाई समेटेर महामन्त्रीले प्रस्तुत् गर्ने प्रतिवेदन पारित भएपछि सभापति देउवाले बैठकका क्रममा उठेका प्रश्नको जवाफ दिएर बैठक आज समापन गर्ने तयारी भइरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्