प्रधानमन्त्रीद्वारा प्रदेशसभा संसदमा सम्बोधन, भारतले आकाश मार्गमा पनि किचलो • Image Khabar Image Khabar


प्रधानमन्त्रीद्वारा प्रदेशसभा संसदमा सम्बोधन, भारतले आकाश मार्गमा पनि किचलो


Imagekhabar
१६ बैशाख २०७५, आईतवार १३:३३

प्रधानमन्त्रीद्वारा प्रदेशसभा संसदमा सम्बोधन, भारतले आकाश मार्गमा पनि किचलो

बुटवल, बैशाख १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाललाई एउटा मात्र आकाश मार्ग प्रयोग गर्न दिएर कन्जुस्याँई गरिरहेको बताएका छन् ।

प्रदेश नम्बर ५ को संसदलाई सम्बोधन गर्दै अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि अधिकार दिन भारतले कञ्जुस्याइँ गरिरहेको उनले बताए ।

भारतले आकाशबाट एउटामात्रै बाटो दिएकाले वीरगन्जबाट सिमरा परेर त्यतैबाट पस्ने र निस्कनुपर्ने अवस्था रहेको प्रधानमन्त्रीको भनाइ छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिएर विमान चलाइने प्रधानमन्त्री ओलीले प्रष्ट गरे ।

भारत भ्रमणका समयमा आफूले भारतलाई अरु आकाश मार्ग पनि दिन भनेको जानकारी उनले दिए ।

नेपालले काठमाडौं बाहिर पोखरा, भैरहवा र निजगढमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै गरेपनि विमानस्थलमा उडान–अवतरणका लागि भारतले आकाशको इजाजत दिन कञ्जुस्याइँ गर्दा उडान कसरी गर्ने भन्ने समस्या परेको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले अधिकार प्राप्तिका लागि जनताले गर्ने संघर्ष सकिएको पनि प्रष्ट गरे ।

सांसदहरुलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले धेरै चरणका आन्दोलन हुँदै मुलुक गणतन्त्रमा पुगिसकेकाले अब विकास र समृद्धिमा लाग्नुको विकल्प छैन भने ।

अहिलेको संविधानले सबै समुदायलाई मूलधारमा ल्याएको जिकीर गर्दै उनले यो विश्वकै लागि नमूना भएको दावी गरे ।

जनप्रतिनिधिका रुपमा ५१ प्रतिशत महिला निर्वाचनबाट आउनु, पछाडी पारिएको समुदायसमेत मूलधारमा समावेश हुनु यसका उदाहरण हुन्, उनले भने ।

समृद्ध मुलुक बनाउन सुशासन, सुव्यवस्थासहितको विकासमा केन्द्रित हुने पनि उनले प्रष्ट गरे ।

लुम्बिनी शान्तिको उद्गम थलो भएकाले यहीबाट समृद्ध नेपालको अभियान थाल्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई आह्वान गरे ।

लुम्बिनीलाई संसारकै आराध्य पर्यटन केन्द्र बनाइने घोषणा गर्दै उनले समग्र पर्यटन क्षेत्र विकासका लागि सरकारले महत्वपूर्ण योजना थालनी गरिसकेको बताए ।

हेलिकप्टरमा बुटवल झरेका ओलीलाई मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती लगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले लुम्बिनीमा भएका अरु तीन कार्यक्रममा पनि सहभागिता जनाए ।

प्रतिक्रिया दिनुहोस्