
काठमाडौं, वैशाख १६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ०४६ सालदेखि यता मुलुकका राष्ट्रिय उद्योगहरु उदारीकरण र निजीकरणको नाममा बेचेर खाएको आरोप लगाएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले राष्ट्रिय उद्योगहरु कमिशन खाएर बेच्ने काम भएको आरोप लगाएका हुन् । उनले भने, ‘उद्योग चलाउन गाह्रो पर्छ, बेच्यो भने त कमिशन आउँछ, पहिले पहिले त कमिशन लिन आफैँ पनि जानु पर्दैनथ्यो, श्रीमती, ज्वाँई र नातेदारलाई पैसा बुझाउने गरिएको थियो, यही स्कुलिङले देश चलिरहेको थियो, त्यसैले सबै राष्ट्रिय उद्योगहरु निजीकरण भए ।’
उनले रुग्ण उद्योग सञ्चालन गर्नेबारे आफूले विशेष पहलकदमी लिएको बताउँदै गोरखामा रहेको गोखरकाली टायर उद्योग कसरी पुनः सञ्चालन गर्न सकिन्छ भनेर रिपोर्ट लिनको लागि विज्ञहरु पठाउँदा उनीहरुले सञ्चालन गर्न सकिँदैन भनेर रिपोर्ट दिएको गुनासो पोखे ।
उनले थपे, ‘मैलेचाहीँ कसरी उद्योग सञ्चालन गर्न सकिन्छ भनेर बुझ्न विज्ञहरु पठाएँ, तर उनीहरुले सञ्चालन नै गर्न सकिँदैन भनेर रिपोर्ट पेश गरे, किनकी बेचेर खान सजिलो छ, अब हामी त्यो टिमलाई विशेष क्लास दिन्छौं ।’
मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै नेताले भ्रष्टाचार गर्नेलाई जेल हालेरै छोड्ने सार्वजनिक अभिव्यक्ति दिएकाले सरकारले कुनै पनि किसिमको भ्रष्टाचार नसहने दावी गरे । मुलुकमा अब कुनै पनि प्रकारको सिण्डिकेट नरहनेसमेत उनले स्पष्ट पारे ।
उनले भने, ‘सरकारले कुनै पनि किसिमको सिण्डिकेट अब बर्दास्त गर्दैन ।’ यद्यपि उनले सरकारले अहिलेसम्म भन्नेमात्रै काम गरेको भनेर आफूहरुलाई आरोप लागेको बताए । उनले थपे, ‘जादुको छडी त होइन, विस्तारै काम गर्छौं, परिणाम दिन्छौं ।’
एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले चुनावमा जनतासँग स्थायी सरकार दिन्छौं, एकताबद्ध राष्ट्र बनाउँछौं, सुशासन दिन्छौं र आर्थिक समृद्धि दिन्छौं भनेर बाचा गरेको स्मरण गर्दै उनले ती बाचा आफूहरुले पूरा गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्