
लमजुङ, वैशाख १७ । कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा निर्माणाधीन रुदीखोला–ए जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
८.८ मेगावाट क्षमताको यो आयोजनाको ९० प्रतिशत निर्माणको काम सकिएको छ । आयोजना प्रमुख सरोज भट्टराईका अनुसार बाँधस्थलको निर्माण, हेडरेस पाइप राख्ने, पेनस्टक पाइप राख्ने, सर्ज ट्याङ्क निर्माण, पावरहाउस निर्माणलगायतका काम अन्तिम चरणमा पुगेको छ ।
कास्कीको मिजुरे र लमजुङको सिङ्दीबेसी सिमामा बाँधस्थलको इन्टेक, वयर, बाँध सुरक्षा पर्खाल, कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । आगामी जेठमा पेनस्टकबाट पानी हालेर टर्वाइनको परीक्षण गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।
३१ मार्च २०१६ बाट निर्माण शुरु भएको यो आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही ढिलाई भएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्