
रसुवा, बैशाख १७ । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा रसुवा र नुवाकोटमा २२८ मेगावाटका आयोजनाको निर्माण धमाधम भइरहेको छ ।
काममा कुनै अवरोध नआएमा २०७६ भित्र यी सबै आयोजना निर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिसूली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
भूकम्प, त्यसपछि बाढीपहिरो र नाकाबन्दीले गर्दा सबै आयोजनाको निर्माण प्रभावित भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले शुक्रबार, शनिबार र आइतबार स्थलगत निरीक्षण गरी निर्माणाधीन आयोजनाको काम तोकिएको समयभन्दा अगाडिनै सम्पन्न गर्न निर्देशन दिएको छ ।
टोलीले यसका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएको छ भने ठेकेदार कम्पनीहरुले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग आयोजनास्थलमै निर्माणमा देखिएका समस्या र समाधानका उपायकाबारेमा छलफल गरेको थियो ।
मन्त्री पुनले भूकम्पछि तयार गरिएको नयाँ समय तालिकामा आयोजनाको निर्माण जुनसुकै अवस्थामा पनि सक्न निर्देशन दिएका छन् ।
अब कुनै बहानबाजी चल्दैन भन्दै उनले तालिका अनुसार नै काम सकी नमुना आयोजनाको रुपमा अगाडि बढाउन आग्रह गरे ।
आयोजना संचालकहरुले प्रसारण लाइन अभावमा विद्युत खेर जान नदिन, परामर्शदाता र ठेकेदार कम्पनीलाई विदेशी मुद्रा भुक्तानीका लागि सटही प्रक्रिया ज्यादै झन्झटिलो रहेकाले यसलाई सहज बनाइदिनुपर्ने लगायतका विषयमा टोलीको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्