
काठमाडौं, असार १२ । संसदमा पहिलोपटक प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर प्रणाली सुरु गरिएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराएलगत्तै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाइने भन्दै एकजना सांसदलाई समय दिए ।
सभामुख महराले समय दिएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले चीन भ्रमणकाक्रममा लिपुलेकबारे किन कुरा उठेन ? र ‘ट्रान्जिट प्रोटोकल’मा किन हस्ताक्षर हुन सकेन ? भनेर प्रश्न गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले सन् २०१६ मा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेलगत्तै आफू सरकारबाट बाहिरिनुपरेको स्मरण गर्दै केही छलफल बाँकी नै रहेकाले आगामी जुलाईमा प्रोटोकल तयार गरेर हस्ताक्षर हुने बताए ।
तर, प्रधानमन्त्री ओलीले लिपुलेकबारे किन कुरा उठेन ? भन्ने प्रश्नको भने स्पस्ट जवाफ दिएनन् । उनले कुनैपनि नाममा सीमाको लेनदेन नहुने बताए ।
प्रतिनिधिसभा सन्चालन नियमावलीमा प्रधानमन्त्री, मन्त्री र सांसदहरुबीच संसदमा प्रश्न–उत्तर गर्नसकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्