२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


न्यूनतम ज्यालामा वृद्धि गर्ने सरकारको योजना छ : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् ।

मजदूर दिवसको उपलक्ष्यमा मंगलबार दिएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको बताएका छन् ।

नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका बताउँदै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गगर्दै उनले सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मर्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको पनि जनाएका छन् ।

‘अहिलेसम्म देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव रहेका कारण ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य छ, श्रम शोषणको शिकार हुन विवश छ,’ सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘रोजगारीका लागि ज्यानको समेत जोखिम मोलेर बिरानो भूमिमा कठिन र कष्टकर श्रममा समेत संलग्न हुन बाध्य नेपाली युवा श्रमिकको अवस्थाप्रति सरकार सम्वेदनशील छ ।’

सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गर्न थालिसकेको र सरकार स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्दै लैजान कटिबद्ध रहेको उनले प्रष्ट पारेका छन् ।

‘संविधानमा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हकको व्यवस्था गरिएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक प्रदान गरिएको छ र प्रत्येक श्रमिकका लागि कानूनबमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजीमा संलग्न हुन पाउने हकको प्रत्याभूति गरिएको र अन्तर्राष्ट्रिय श्रम संगठनका आधारभूत महासन्धिको पालना गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा सबैलाई देशको आर्थिक सामाजिक रूपान्तरणमा पूर्ण क्षमताको सदुपयोग गर्दै संलग्न रहन प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् । (रासस)