६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता


0
Shares

प्याराडाइज, कात्तिक ३० । अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको भीषण डढेलोका कारण ६०० भन्दा बढी बेपत्ता भएका जनाइएको छ ।

खोजीकार्य अझै जारी रहेकाले मृतकको संख्या पनि बढ्नसक्ने अनुमान गरिएको छ ।

बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीहरुले करिब ६३१ जना बेपत्ता भएको स्पस्ट गरेका छन् । साथै, उनीहरुले थप सातजनाको शव आगोलागी भएको जंगलबाट निकालेको जनाएका छन् ।

यसअघि, उक्त डढेलोमा परी करिब ३०० जना बेपत्ता भएका बताइएको थियो ।

यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जंगलमा अकस्मात् आगो सल्किएको र द्रुतगतिमा फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउन ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

गत नोभेम्बर ८ मा सुरु भएको सो डढेलोमा परी बिहीबारसम्म मृत्यु हुनेहरुको संख्या ६३ पुगेको छ ।

डढेलोबाट जंगल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।

बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्य जारी रहेको र आगो निभाउने कामका लागि हजारौं अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

क्यालिफोर्नियाको जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ ।

समय–समयमा सरकारले आगो निभाएको बताएपनि पूर्णरुपमा जंगलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जंगलको आसपास बसोबास गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

पछिल्लो समयमा गत नोभेम्बर ८ मा अकस्मात् बढेको आगोका कारण धेरै मानिस हताहत भएका हुन् ।

राष्ट्रपति ट्रम्पले प्रभावित क्षेत्रको भ्रमण गर्ने

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त डढेलो लागेको पश्चिमी क्षेत्रको भ्रमण गरी आगोलागीपीडितहरुलाई भेट्ने भएका छन् ।

उनले उक्त क्षेत्रको भ्रमण गरी आगोलागीमा परी ज्यान गुमाएकाहरुका परिवारलाई भेट्ने जनाइएको छ ।

अमेरिकी अधिकारीहरुले राष्ट्रपति ट्रम्पले शनिबार ती परिवारका सदस्यहरुलाई भेट्ने जनाएका हुन् । उक्त राज्यको इतिहासमा नै यो डढेलो सबैभन्दा विध्वंसात्मक रहेको बताइएको छ ।

पछिल्लोपटक द्रुतगतिमा बढेको आगो सिएरा नोभादा पहाडमा फैलिएको थियो । आगोको गतिअनुसार वृद्धवृद्धा दौडिन नसकेका र उनीहरुका सवारी–साधनलाई नै आगोले भेटाउँदा उनीहरुको ज्यान गएको थियो ।

यो सियरा पहाडमा बढेको डढेलोका कारण मृत्यु हुने व्यक्तिहरुमा बढी वृद्धवृद्धाहरु रहेका छन् ।

आगोमा डढेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न गाह्रो भएको बताइन्छ । शरीर जलेका कारण व्यक्तिको पहिचान गर्न नसकेपछि गाउँका हराएका व्यक्तिका आफन्तको डीएनए परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस/एएफपी