२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सगरमाथा आधारशिविरमा आरोहीको भीड


0
Shares

यो वर्ष विभिन्न देसका विदेशी तथा स्वदेशी ५२२ जना आरोहीहरु सगरमाथालगायतका हिमाल आरोहण गर्नका लागि आधारशिविरमा भेला भएका हुन् ।

पर्यटन विभागबाट हालसम्म अनुमति लिएकामध्ये सगरमाथा आरोहणका लागि ३४ समूहबाट ३२६ जनाले सरकारबाट अनुमति लिएर आधारशिविर प्रवेश गरेका छन् ।

ल्होत्से हिमालको आरोहणका लागि १० समूहका १०७, नुप्त्से हिमालका लागि तीन समूहका ४० जना र आमाडब्लमका लागि ६ समूहका ४९ जना आरोही सहयोगीसहित पर्यटन विभागबाट अनुमति लिएर आधारशिविरतर्फ लागेको विभागका प्रवक्ता रामप्रसाद सापकोटाले जानकारी दिए ।

सगरमाथा आरोहणमा आकर्षण बढेसँगै आधारशिविरमा घुइँचो भएको हो । लगातार दुई वर्षसम्म प्राकृतिक विपत्तिका कारण अवरुद्ध हुँदा आरोहण गर्न नपाएकाहरु अघिल्लो वर्षबाट आरोहणका लागि आधारशिविर आएका छन् ।

अधिकांश आरोहीहरु आधारशिविरबाट क्याम्प एक, दुई, तीन हुँदै चारसम्म जान थालेका छन् भने केही आरोहीहरु पनि आधारशिविरमै तयारीमा जुटिरहेका छन् ।

सगरमाथालगायत सोलुखुम्बुका हिमालहरु आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट प्रवेशाज्ञा लिएरमात्र जानुपर्दछ ।

सबै आरोहीहरुले एउटै आधारशिविर प्रयोग गर्नाले पनि आधारशिविरमा आरोही तथा उनीहरुका आरोहण सहयोगीसहित करिब एक हजारभन्दा बढी भएको एसपीसीसीले जनाएको छ ।

हाल आधारशिविरमा आरोही तथा आरोहण दलका सहयोगी एक्सपिडिसनका गाइडहरु, सहयागीहरु रहेका छन् ।

सगरमाथाको आधारशिविरमा खाद्यान्न तथा दैनिक प्रयोगका सामग्रीहरु ओसारपसार गर्ने, बाहिर घुमफिर गर्ने तथा आरोहण दलका क्लाइमिङ गाइड तथा अरु कर्मचारीका कारण यतिबेला सगरमाथा आधारशिविर आरोहीहरुको बजारजस्तै देखिन थालेको बताइएको छ ।

आधारशिविरभरि पाल टाँगेर बसेका आरोही दलहरुले सगरमाथाको आधारशिविर भरिँदै गएको छ ।

आधारशिविरमा ‘स्प्रिङ सिजन’को विशेष रौनक देखिएको बताइएको छ ।

वर्षको दुईपटक आरोहणका लागि खुला गरिएपनि हिमाल आरोहीहरुले सगरमाथा आरोहणका लागि वसन्त ऋतुलाई नै बढी रोज्ने गरेको पाइएको छ ।