
न्यूयोर्क, वैशाख २१ । यौन उत्पीडन गरेको आरोप लागेपछि अमेरिकी कमेडियन बिल कोस्बी र फिल्म प्रोड्यूसर रोमान पोलन्स्कीलाई अमेरिकाको एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेजबाट निकालिएको छ ।
ओस्कार पुरस्कार दिने यस संस्थाले नैतिक मूल्य जोगाउन पनि उनीहरुलाई निष्काशन गर्नुपरेको जनाएको छ ।
ओस्कार एकेडेमीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बोर्ड नैनिक मूल्यका मानकहरुलाई प्रोत्साहित गर्न जारी राख्ने छ, एकेडेमी मानिसहरुको गरिमालाई सम्मान गर्दछ र एकेडेमीका सदस्यहरु नैतिक मूल्यलाई कायम राखुन् भन्ने आशा गर्दछ ।’
गत महिना ८० वर्षीय कोस्बीलाई यौन दूर्व्यवहारसम्बन्धी तीन घटनामा दोषी पाइएपछि जेल पठाइए पनि कति वर्ष जेल सजाय हुन्छ भन्ने फैसला हुन भने बाँकी छ ।
एमी अवार्ड विजेता कोस्बीमाथि गत पाँच दशकमा ६० महिलाले आफूमाथि यौन दुर्व्र्यवहार गरेको आरोप लगाएका थिए ।
१३ वर्षीया एक बालिकासँग अवैध यौन सम्बन्ध रहेको सन् १९७७ मै स्वीकारेका पोलन्स्कीलाई त्यही बेला ४२ दिनको जेल सजाय सुनाइएको थियो ।
यस घटनापछि उनी अमेरिकाबाट भागेर फ्रान्समा बस्न थालेका थिए ।
गत वर्ष यौन उत्पीडनको आरोप लागेपछि एकेडमीले हलिवुडका ठूला निर्माता मानिने हार्वी वाइन्स्टाइनलाई पनि निष्काशन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्