२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संघीय संसदको दोस्रो अधिवेशन आइतबार, के–के हुँदैछ ?


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान भएको हो ।

यो अधिवेशनलाई बजेट अधिवेशनकारुपमा लिइन्छ । संसदको मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु भएपनि यो अधिवेशनकाक्रममा सरकारको नीति तथा कार्यक्रमसमेत प्रस्तुत् हुनेछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुई सदनसहितको संघीय व्यवस्थापिकालाई संघीय संसद भनिन्छ । आइतबार अपराह्न ४ बजे दुवै सभाका बैठक एकैसाथ सन्चालन हुनेछ ।

संसद सचिवालयकाअनुसार आइतबार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारओटा अध्यादेशहरु प्रस्तुत् हुने सम्भावित कार्यसूची रहेको छ ।

आइतबारकै बैठकमा आ–आफनो सभासँगसम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

आइतबारपछिका बैठकहरुमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, संशोधन प्रस्तुत् गर्ने अवधि र पारित गर्ने साथै पहिलो बैठकमा प्रस्तुत् भएका अध्यादेशहरु क्रमशः स्वीकृत हुनेछन् ।

वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत् हुने र सभामा छलफल गर्ने सचिवालयले प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ ।

अधिवेशनकाक्रममा जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गरी सम्बोधनसमेत हुनेछ ।

त्यसपछिका संसदको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने, प्रधानमन्त्रीबाट जवाफ दिने र पारित गर्ने सन्दर्भ रहनेछ ।

संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले जेठ १५ गते सदनमा सरकारको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत् गर्नेछन् ।

अधिवेशनकाक्रममा बजेटमाथि एक हप्ता सैद्धान्तिक छलफल गर्ने र अर्थमन्त्रीद्वारा जवाफ दिने कार्यक्रम रहनेछ ।

त्यसपछिका बैठकमा विनियोजन विधेयक प्रस्तुत् गरी सबै मन्त्रालयका शीर्षकगत छलफल गर्ने, पारित गर्ने र सोसँग आश्रित विधेयकहरु आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने समयसीमासहितको सम्भावित कार्यक्रम रहेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।

अधिवेशनकाक्रममा सदनमा प्राप्त संविधान कार्यान्वयनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल गर्ने, संसद सचिवालयमा दर्ता हुन आएका सार्वजनिक महत्वका र संकल्पलगायतका प्रस्तावमाथि छलफल गरिनेछ ।

संघीय संसदको दोस्रो अधिवेशनकाक्रममा संसदीय अभ्यासका लागि महत्वपूर्ण मानिएका समितिहरु गठन गरिनेछ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हुन् । प्रतिनिधिसभा २७५ तथा राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ ।

प्रतिनिधिसभा तल्लो सदनकारुपमा रहेको छ भने प्रबुद्ध समूहको प्रतिनिधित्व रहने राष्ट्रियसभालाई माथिल्लो सदनकारुपमा लिइन्छ ।

संघीय संसदमा नै राजनीतिक दलको उपस्थिति रहेकामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

संघीय संसदमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सत्तापक्ष तथा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा छ ।