२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


केरुङ–काठमाडौं रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै


0
Shares

रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने तयारी गरेका छन् ।

रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायकाअनुसार चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोली रेलमार्ग अध्ययनका लागि यहाँ आउन लागेको हो ।

आगामी अगस्टसम्म केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

नेपालमा रेलमार्ग निर्माणका विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनको सियानमा उच्चस्तरीय छलफल तथा भेटवार्ता भएको थियो ।

हालका सभामुख एवं तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ सालको भदौ अन्तिम साता गरेको चीन भ्रमणकाक्रममा नेपालमा रेलमार्ग विस्तारबारे सघन पहल गरेका थिए ।

उनले चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीलगायतका नेतासँग रेलमार्ग निर्माणकाबारेमा छलफल गरेका थिए ।

सो छलफललगत्तै चिनियाँ रेल प्रशासनका उच्च टोलीले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो ।

अध्ययनपश्चात् नेपालमा रेलमार्ग निर्माण गर्नसकिने प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।

यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यही वैशाखको पहिलो साता गरेको चीन भ्रमणकाक्रममासमेत रेलमार्ग निर्माण तथा विस्तारकाबारेमा महत्वपूर्ण छलफल एवं विचार–विमर्श भएको थियो ।

सोही छलफल र विचार–विमर्शका आधारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारी र रेल विभागका अधिकारी चीन भ्रमणमा गएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन चिनियाँ अधिकारीसमक्ष आग्रह गरेका थिए ।

नेपाली सीमा रसुवागढीदेखि काठमाडौंसम्मको रेलमार्ग करिब १०० किलोमिटर लामो हुनेछ । करिब एक घन्टाको यात्रामा रसुवागढीबाट काठमाडौं आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ ।

सो रेलमार्गबारे अध्ययन गर्न नेपाली प्रतिनिधिमन्डल यही वैशाख १५ गते चीन प्रस्थान गरेको थियो ।

नेपाल र चीनलाई जोड्ने सो रेल चीनको लाह्सा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ ।

सोही रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्काे लाइन लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ ।

रेलमार्गमा सुरुङ र पुलको मात्रा बढी हुनेछ । सो रेलमार्गमा ६ ओटासम्म स्टेसन रहने बताइएको छ ।

चीनबाट फर्केपछि रासससँग कुराकानी गर्दै रेल विभागका प्रवक्ता उपाध्यायले चिनियाँ अधिकारीसँग महत्वपूर्ण छलफल भएको जानकारी दिए ।

‘आगामी अगस्टसम्म प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ । सो अध्ययनपछि रेलमार्गका लागि विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर), लगानीको स्वरुप तथा ढाँचाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढ्छ’–प्रवक्ता उपाध्यायले भने ।

चीनमा रहँदा नेपाली अधिकारीले चिनियाँ रेल प्रशासनका उच्च अधिकारीसँग रेलमार्ग निर्माणकाबारेमा महत्वपूर्ण छलफल गरेका थिए ।

यस्तै, काठमाडौं उपत्यकामा पनि मोनोरेल चलाउन पनि चिनियाँ कम्पनीले प्रस्ताव गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

चक्रपथमा मोनोरेल चलाउन काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसँग चिनियाँ कम्पनीले प्रस्ताव गरेको हो ।