
सुन्दर कुमार थकाली/ईमेज:
मुस्ताङ, बैशाख २३ । हिन्दू र बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दैनिक एक हजार तिर्थालु पुग्ने गरेका छन् ।
स्थानीयबासिन्दाले धार्मिक स्थल मुक्तिनाथ मन्दिरको पूर्वाधार विकासमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
दर्शनार्थी बढेसँगै स्थानीय क्षेत्रको आर्थिक पर्यटनमा पनि बल पुगेको छ । गत वर्षभन्दा यसवर्ष ३५ प्रतिशतले तिर्थालु बढेका छन् । मुुक्तिनाथ विकास समितिका रविन सुवेदीले देश विदेश दुबैका श्रद्धालु बढेको बताए ।
हैदरावादबाट आएकी भारतीय तिर्थालु डा.ंंकविताले आफुहरु १ सय ८ दिब्यदेशमा यात्राका लागि मुक्तिनाथ आएको बताइन । उनले सबैले मुक्तिनाथ पुग्न गाहे हुने बताए पनि आफु भगवान सम्झिदै आएको बताईन् ।
हिउँदको चिसो सकिएर वर्षायाम शुरु भएको र नयाँ वर्षको आगमनमा बसन्त ऋतुको खुल्ला मौसममा नेपालभित्रका र भारतीय तिर्थालु दर्शनका लागि ओइरिएका हुन् ।
मुक्तिनाथ दर्शन गर्ने तिर्थालुको भीडले मन्दिर परिसर भरिन थालेको छ । पछिल्लो समय मुस्ताङ यात्रा सहज भएपछि तिर्थालुको संख्या बढेको हो ।
पाँच वर्षअघि सीमित होटल रहेकामा अहिले दर्जनौ स्तरीय होटल संञ्चालनमा छन् । तीर्थयात्रु रानीपौवा बसपार्कदेखि मुक्तिनाथसम्म तीन किलोमिटर भने पैदलै वा घोडामा चढेर पुग्दछन् ।
रानीपौवा, झारकोट, खिड्डा, छेङ्गुर र झोङका युवाले तिर्थालुलाई घोडामा पुर्याउन रोजगारी पाएका छन् ।
कालिगण्डकी करिडोर अन्तर्गतको बेनी जोमसोम सडकखण्ड निर्माण भैईरहदा सडकको अवस्था सहज भएको र यातायातमा सिन्डिकेट हटेपछि तिर्थालुको संख्या बढेको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।
मुस्ताङमा नयाँ वर्षसँगै दिनहुँ सयौंको संख्यामा सार्वजनिक सवारी, निजी, हरियो प्लेटका सवारी साधन र मोटरसाईकल भित्रिने गरेको छ ।
हवाई सेवामार्फत पनि मुस्ताङमा ठूलो संख्यामा भारतीय पर्यटक पुग्ने गरेका छन् ।
जोमसोम नागरिक उड्ययन कार्यालयका अनुसार तारा एयरलाईन्स, नेपाल वायुसेवा निगम र समिट एयरलाईन्सले दैनिक १५ वटासम्म उडान भर्ने गरेका छन् । जसमा अधिकांश भारतीय पर्यटक र केही तेश्रो मुलुकका पर्यटक हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्