
आपराधिक समूहबाट नोक्सानी व्यहोरेका चितवनका केरा किसान एक साता नबित्दै अर्को विपत्तिको चपेटामा परेका छन् ।
एक साताअघि चितवनमा एउटा अचम्मको घटना सार्वजनिक भयो । रातारात तीन हजारभन्दा बढी केराको बोट एकैछिनमा सखाप भए ।
ठूलो लगानी र परिश्रम खर्चेर बल्लतल्ल हुर्काएका केराका रहरलाग्दा बोटहरु एकाएक सखाप हुँदा किसान अत्यन्तै चिन्तित बनेका थिए ।
तर, त्यो नोक्सानीको पीडा नभुल्दै अर्को पीडा थपिएको छ । आइतबार साँझ आएको तीव्र हावाहुरीसहितको असिना–पानीले चितवनको कालिका नगरपालिकाको पदमपुरमा ८० प्रतिशतभन्दा बढी केराखेती र अन्नबाली पूर्णरुपमा नस्ट भएको छ ।
केरा, मकै, तरकारी, फलफूलमासमेत असिनाले व्यापक क्षति पुर्याएको छ ।
वर्षेनि मानवीय उद्दन्डता र प्राकृतिक प्रकोपको सिकार बनेका चितवनका किसानलाई यो क्षतिले निकै मारमा पारेको छ ।
असिनाले खेती नस्ट गरेपछि करोडौंको आम्दानी गुम्दा चिन्तित बनाएकोे किसान यज्ञ सुवेदी र दुर्गा शर्माको गुनासो छ ।
पूर्वी चितवनमा करिब दुई हजारको क्षेत्रफलमा लगाइएको केराखेती हावाहुरी र असिनाले पूर्णरुपमा नस्ट पारेको केरा उत्पादक संघ चितवनको दावी छ । त्यसको प्रत्यक्ष मारमा किसान परेका छन् ।
नस्ट भएका केराको मूल्यांकन गरी किसानलाई क्षतिपूर्ति दिन विवरण मन्त्रालयमा पठाउने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् ।
यस वर्ष अधिकांश केरा किसानले बिमा नगराएका कारण किसान थप मर्कामा पर्ने निश्चित भएको छ । किसान मर्कामा परेपछि क्षतिपूर्तिको आश्वासन प्रदेशका सांसदबाट पनि आउन थालेको छ ।
नोक्सानीमा परेका किसानको मर्कालाई सम्बोधन गर्न पहल थाल्ने प्रदेश सांसद घनश्याम दाहाल बताउँछन् ।
केराखेती नस्ट भएपछि यसको आपूर्तिमा पनि समस्या हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्