
काठमाडौं, बैशाख २६ । नेपाल धितोपत्र वोर्ड (सेवोन) स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपालमा पहिलोपटक पूँजी बजार प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।
वोर्डको रजत जयन्तीका अवसरमा गरिएको प्रदर्शनी भोलिसम्म चल्ने छ ।
नेपाल धितोपत्र बोर्ड पूँजी बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार, लगानी कर्ताको हित, वस्तु कारोवार व्यवस्था र कारोवारलाई नियमन तथा व्यवस्थित गर्न स्थापीत भएको नियमनकारी निकाय हो ।
प्रदर्शनीको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजारलाई स्वस्थ र प्रतिष्पर्धी बनाउनु सरकारको दायित्व भएको भन्दै पूँजी बजार अझै अस्वस्थ रुपमा चलेको टिप्पणी गरे ।
अस्वस्थ रुपमा गरिएको कारोबारमा लगानीकर्ताको जोखिम वहन गर्न सरकार जिम्मेवार नहुने उनको भनाइ छ ।
नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न नीतिगत निर्णय भइसकेको भन्दै उनले इन्टरनेटमार्फत खरिद बिक्रीको आदेश दिनसक्ने व्यवस्था गर्न सम्वन्धीत निकायलाई निर्देशन दिइसकेको बताए ।
प्रदर्शनीमा झण्डै २ सय स्टल राखिएका छन् । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका जारी भइसकेको पनि मन्त्री खतिवडाले जानकारी गराए ।
प्रदर्शनीमा नेपाल धितोपत्र वोर्ड, बीमा समिति, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बजारसम्बन्धी सफ्टवेयर कम्पनीहरुले झण्डै २ सय वटा स्टल राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्