७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


‘प्रहरी परिचालन गरेरै भएपनि फुटपाथ व्यापारीलाई हटाइन्छ’ (भिडियो)


0
Shares

महानगरमा सधैं भीड हुने रत्नपार्क, चाबहिल, नयाँबानेश्वर, कोटेश्वरजस्ता ठाउँहरुमा यसरी व्यवसाय गर्नेको भीड लाग्ने गरेको छ ।

सरकारले फुटपाथका व्यापारीलाई हटाउने भनेपनि मानिसहरुले टेरेका छैनन् । यसैको कारण बटुवा हिँड्ने फुटपाथ नासिएको छ र बजार बनेको छ ।

यसै त सरकारले बाटो विस्तारका नाममा पनि पैदलयात्री हिँड्ने बाटो मासेको छँदैछ । यसले सहरको सौन्दर्य बिग्रेको त छँदैछ, असुरक्षा र जोखिम पनि बढाएको छ ।

कतै बाटो नै जाम गरिएको हुन्छ त कतै पैदलयात्रीलाई हिँड्ने ठाउँ नै पनि राखिएको हुन्न ।

व्यवसाय गर्नेले जथाभावी फ्याँकेका फोहोर वातावरणीय दृष्टिले टाउको दुखाइको अर्को विषय बनेको छ ।

पछिल्लो समयमा महानगरपालिकाले फुटपाथबाट साना व्यापारीलाई हटाउने निर्णय गरेपछि व्यापारीहरु भने समस्या थपिएको बताउँछन् ।

फुटपाथमा यसरी अलपत्र पर्नुपर्ने कसैको रहर भने होइन । काठमाडौंको जीवन, परिवारको पेट पाल्नुपर्ने बाध्यता यस्तै–यस्तै कारणले मानिस फुटपाथसम्म नांग्लो फिँजाउन आइपुगेका छन् ।

महानगरले यहाँबाट हटाएमा के गर्ने भन्ने अन्योलमा छन् साना व्यापारीहरु । जीविकोपार्जनकै संकटको मुखमा छन्, उनीहरु ।

उसोत बाटोमा हिँड्ने बटुवा फुटपाथ मिचिँदा दिक्क त छन् तैपनि, साना व्यापारीको विवशतामाथि सहानुभूति पनि देखाउँछन् ।

पछिल्लो समय महानगरले साँझ ६ बजेदेखि राति १० बजेसम्म सुरक्षाकर्मी लगाएर सडक व्यवस्थापन गर्न थालेको छ ।

आगामी जेठ १ गतेबाट त प्रहरी परिचालन गरेरै भएपनि फुटपाथका व्यापारीहरुलाई हटाइने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन् ।

भिडियो हेर्नुहोस्