शंकर खनाल/राममान डंगोल (इमेज)
काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा कांग्रेसकै शीर्ष नेताहरुले भने गुट–उपगुटलाई मौलाउन दिइरहेको उनीहरुको व्यवहारले नै देखाइरहेको छ ।
यसले कार्यकर्तालाई निराशमात्र बनाएको छैन, कांग्रेस आफैंलाईसमेत कमजोर बनाउँदै लगेको विश्लेषण हुन थालेको छ ।
‘काग गराउँदै गर्छ, पिना सुक्दै जान्छ’ भनेजस्तै गुट–उपगुट अन्त्यको माग गर्ने कार्यकर्ताको आवाजलाई कांग्रेसले बेवास्ता गरेको स्पस्ट देखिन्छ ।
पार्टीभित्र गुट–उपगुट छैन भनेर चर्को भाषण गरेर नथाक्ने नेताहरु नै गुट–उपगुटको खेल खेलिरहेका छन् ।
मुख्य गरेर संस्थापन र संस्थापनइतर भनेर चिनिएका शीर्ष नेताहरुबाटै गुट–उपगुटको नेतृत्व भइरहेको छ ।
कसले–कसलाई कमजोर बनाउने भन्ने रणनीतिले गर्दा कांग्रेसभित्रको यो रोग बल्झँदै छ ।
महासमिति र महाधिवेशन बैठक नजिकिँदै गर्दा संस्थापन र संस्थापनइतर नेताहरु आफ्नो पक्ष बलियो बनाउने कसरतमा तल्लीन छन् ।
सभापति शेरबहादुर देउवाको विधानविपरीतका गतिविधि रोक्न र पार्टी बचाउन आफूहरु सक्रिय बनेको नेता नवीन्द्रराज जोशीको भनाइ छ ।
तर, संस्थापन पक्षधर नेताहरु भने यो आरोप स्वीकार्दैनन् । अनावश्यक मुद्दा उछालेर सभापतिलाई काम गर्न नदिइएको उनीहरुको आरोप छ ।
वैचारिक मुद्दालाई पार्टीभित्र राख्नुपर्ने भन्दै कोठेबैठकमा हुने छलफलको कुनै अर्थ नरहेको नेता डा. प्रकाशशरण महतको तर्क छ ।
कांग्रेसभित्र अहिले स्पस्टरुपमा देउवा, पौडेल र सिटौला गरी तीन गुट सक्रिय देखिन्छ । गुटभित्र पनि विभिन्न उपगुट रहेको चर्चा कांग्रेसवृत्तमा नौलो होइन ।
नेता भीमसेनदास प्रधान विचारविहीन गुटले पार्टीको हित नगर्ने बताउँछन् ।
आन्तरिक लोकतन्त्रको दुहाइ दिने कांग्रेस आफैंमा भने गुटगत राजनीतिमा रुमलिनु पक्कै पनि राम्रो होइन ।
तर, आन्तरिक विवाद र खिचातानीमै अल्झिरहेको कांग्रेसमा गुट–उपगुटको प्रवृत्तिले भने जरो गाडिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्