
कल्पना बोहरा/
अछाम, वैशाख ३० । साँफेबगर नगरपालिका भित्रका बेरोजगार युवाहरुको तथ्यांक संकलन गर्ने उद्देश्यले मोबाइल सम्बन्धी क्षमता प्रदर्शन परीक्षा सम्पन्न भएको छ ।
साँफेबगर नगरपालिका र साँफेबगर नगरस्तरीय युवा सञ्जालको संयुक्त आयोजनामा भएको परीक्षामा ७२ जना युवायुवतीको सहभागिता थियो ।
मोबाइल सम्बन्धी क्षमता प्रदर्शन परीक्षाको नतिजा जेठ १ गते प्रकाशित गरिनेछ । परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई जेठ १ गते एक भव्य कार्यक्रम आयोजना गरी पुरस्कृत गरिनेछ । जस अन्तर्गत सादा मोबाइल सम्बन्धी क्षमता प्रदर्शन परीक्षामा प्रथम हुनेलाई पन्ध्र हजार, द्वितीय हुनेलाई दश हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कारसहित सम्मानपत्र प्रदान गरिनेछ ।
यस्तै एनरोईड मोबाइल सम्बन्धी क्षमता प्रदर्शन परीक्षामा प्रथम हुनेलाई बीस हजार, द्वितीय हुनेलाई पन्ध्र हजार र तृतीय हुनेलाई दश हजार रुपैयाँ पुरस्कारसहित सम्मानपत्र प्रदान गरिनेछ ।
साथै आफ्नो वडाबाट बढीभन्दा बढी युवाहरुलाई सहभागी गराउने वडा अध्यक्षलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।
संविधानले नै स्थानीय निकायलाई दिएका २२ वटा अधिकारमध्ये युवाहरुको तथ्यांक संकलन पनि एक रहेकोले मोबाइल क्षमता प्रदर्शनी परीक्षाको आयोजना गरेर युवाहरुको तथ्यांक संकलन गर्न लागिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्