जथाभावी लगानी नगर्न बैंकहरुलाई गभर्नरको चेतावनी • Image Khabar Image Khabar


जथाभावी लगानी नगर्न बैंकहरुलाई गभर्नरको चेतावनी


Imagekhabar
३० बैशाख २०७५, आईतवार १९:१०

जथाभावी लगानी नगर्न बैंकहरुलाई गभर्नरको चेतावनी

काठमाडौं, वैशाख ३० । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नाफा बृद्धिका लागि ब्यवस्थापनलाई दबाब नदिन बैंकका सञ्चालकहरुलाई निर्देशन दिएका छन् ।

गलत तरिकाले लगानी गर्ने बैंकहरुलाई राष्ट्र बैंकले निरीक्षण गरिरहेको भन्दै उनले गलत क्षेत्रमा लगानी गर्ने बैंकलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको आइतबार उद्घाटन गर्दै गभर्नर नेपालले बैंकिङ क्षेत्रमा गरिएको लगानी नाफाका लागिमात्र नभइ आर्थिक समृद्धिको लागिसमेत भएको भन्दै नाफाका लागिमात्र दबाब नदिन बैंक संचालकहरुलाई निर्देशन दिए ।

बैंक जनताको निक्षेप जिम्मेदारपूर्वक सञ्चालन हुने ठाउँ भएको भन्दै उनले जनताको पैसालाई नाफाका लागि जथाभावी प्रयोग नगर्न सचेत गराए ।

‘नाफा चाहिए बैंकबाट ऋण लिएर कुनै व्यवसाय गर्नुस् तर बैंकबाट नाफा चाहिन्छ भनेर व्यवस्थापनलाई अनावश्यक हस्तक्षेप नगर्नुहोस्,’ उनले भने ।

नाफा कमाउने नाममा बैंकहरुले ऋण विस्तार गर्दा गलत ठाउँमा पैसा गइरहेको उनको भनाइ थियो । उनले बैंकको पूँजी बृद्धिका कारण बैंकहरु क्षमतावान देखिएको जिकिरसमेत गरे ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीले पूँजीका हिसावले मेगा तेस्रो ठूलो बैंक भएको बताइन् । मर्जपछि चुक्ता पूँजी ९ अर्ब २९ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्