लघु उद्यम संचालन गरेर मालामाल, विदेश जान खोज्ने युवालाई गाउँमै जागिर • Image Khabar Image Khabar


लघु उद्यम संचालन गरेर मालामाल, विदेश जान खोज्ने युवालाई गाउँमै जागिर


Imagekhabar
३१ बैशाख २०७५, सोमबार ११:१६

लघु उद्यम संचालन गरेर मालामाल, विदेश जान खोज्ने युवालाई गाउँमै जागिर

विवेक भण्डारी/ईमेज:
नवलपरासी, बैशाख ३१ । नेपालमा रोजगारीका अवसर नभएको भन्दै दैनिक दुई हजार युवा विदेश पलायन भइरहँदा केही युवा भने सीप सिकेर स्वदेशमै उद्यम सञ्चालन गरिरहेका छन् ।

यसबाट उनीहरु आफूले मात्र रोजगारी पाएका छैनन् अरुलाई समेत रोजगारी दिएका छन् ।

नवलपरासी कावासोतीका चन्द्रप्रसाद थनेल यतिबेला सफल व्यवसायी बनेका छन् । आफ्नै लगानीमा ३ वर्षअघि स्थापना गरेको लघु उद्यमका कारण उनी अहिले पर्याप्त आम्दानी गर्छन् ।

उनलाई न त विदेश ताक्नुपरेको छ न त आर्थिक अभाव नै छ । सुरुमा लघुउद्यम चलाउन सीप त थियो तर रकम अभावले समस्या पार्‍यो ।

तर पछि आफ्नै बहिनीसँग साठी लाख ऋण लिएर लघुउद्यम थालनी गरेको र व्यवसाय सुरु गरेको दुई महिनामै ऋण र व्याज चुक्ता गर्न सफल भएको अनुभव चन्द्र प्रसादको छ ।

ऋणधन गरेर सुरु गरेको व्यवसायबाट राम्रो प्रतिफल आउन थालेपछि चन्द्रप्रसादलाई झन उत्साह थपियो ।

आफ्नो उद्यमले दिनप्रतिदिन गति लिएपछि हाल १५ जनालाई रोजगारीको अवसर समेत मिलेको छ ।

केही समयपछि व्यवसायलाई थप विस्तार गरी २ सय जनालाई रोजगारी दिने योजना रहेको चन्द्रप्रसाद बताउँछन् ।

लघुउद्यमले उत्पादन गरेका भादगाउँले टोपीको दैनिक १ हजार माग रहेको छ भने ढाकाका झोला दैनिक ५ सय वटाको माग हुने गरेको थनेतको भनाइ छ ।

गाउँघरमा यत्तिकै रहनुपर्ने महिलालाई पनि लघुउद्यमले रोजगारी दिएको छ ।

जसले गर्दा दिन बिताउन पनि सजिलो हुने र आयआर्जनको राम्रो माध्यम भएको कामदार पुनम परियार र सरिता थनेल बताउँछन् ।

स्वदेशमै आफै केही गर्न चाहनेका लागि विदेशी भूमिको मुख ताक्नुपर्ने आवश्यक छैन भन्ने सन्देश पनि थनेलको सफलताले दिएको छ ।

थनेतले जस्तै देशका अरु युवाले पनि केही गरे देशमै रोजगारीका अवसर सृजना गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्