प्रतिनिधिसभाका सांसदलाई बजेट परिचालन गर्ने अधिकार दिने कि नदिने ? (भिडियो) • Image Khabar Image Khabar


प्रतिनिधिसभाका सांसदलाई बजेट परिचालन गर्ने अधिकार दिने कि नदिने ? (भिडियो)


Imagekhabar
३१ बैशाख २०७५, सोमबार १२:४४

प्रतिनिधिसभाका सांसदलाई बजेट परिचालन गर्ने अधिकार दिने कि नदिने ? (भिडियो)

काठमाडौं, बैशाख ३१ । मुलुक संघियतामा गई स्थानीय तहलाई विकास निर्माणको अधिकांश अधिकार दिइसक्दासमेत कानुन निर्माणका लागि चुनिएका प्रतिनिधिसभाका सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिन गरेको लविङको चौतर्फी विरोध भएको छ ।

स्थानीय विकास निर्माणको काम गर्ने निकायका जनप्रतिनिधिदेखि विज्ञसम्मले निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदलाई बजेट परिचालन गर्ने अधिकार दिन नहुनेमा जोड दिएका छन् ।

लामो समयसम्म स्थानीय तहमा जनप्रतिनिधि नभएपछि बजेटमार्फत् नै संसद विकास कोष खडा गरी निर्वाचन क्षेत्र भित्र विकासका कार्यक्रम गर्न केही वर्षदेखि निर्वाचन क्षेत्र विकास कार्यक्रम लागु गरिएको थियो ।

तर अहिले स्थानीय जनप्रतिनिधि निर्वाचित भई मुलुकमा तीन तहको सरकार बनिसक्दा पनि प्रतिनिधिसभाका सांसदहरु त्यही व्यवस्था निरन्तर गर्नुपर्ने लबिङमा छन् ।

विगतमा पनि निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट कार्यकता संरक्षणका लागि मात्र प्रयोग भएको आरोप लाग्दै आएको थियो ।

विकासका काम गर्नुको साटो आफुले निर्वाचन खर्च उठाउने माध्यमका रुपमा मात्र बजेट प्रयोग गर्ने गुनासो त्यत्तिकै थियो ।

अहिले पनि नीति तथा कार्यक्रम र बजेट ल्याउने मुखमा सांसदहरु यस अभियानमा लागेपछि स्थानीय तहका जनप्रतिनिधिले समेत यसप्रति आपत्रि जनाएका छन् ।

धादिङ निलकण्ठ नगरपालिका मेयर भीम ढुंगाना निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिए त्यस्तो कार्यक्रमलाई स्थानीय तहले अस्वीकार गर्नुपर्ने बताउँछन् ।

विज्ञहरु पनि यस्ता कार्यक्रम भ्रष्टाचारका लागि मात्र हुने तर्क गर्दछन् ।

संविधान नियम कानुनले जस्लाई अधिकार दिएको छ त्यसले मात्र राज्यको बजेट प्रयोग गर्न पाउने विश्वब्यापी मान्यता भएको भन्दै निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदलाई बजेट परिचालनको अधिकार दिन नहुने धारणा राख्छन् पूर्व मूख्यसचिव डा.विमल कोइराला ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट विकासमा कहिं कतै सकारात्मक प्रभाव नपरेको भन्दै कोइरालाले यस्ता कार्यक्रम राख्नै नुहने सुझाव दिए ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम संघीयता र संविधानको भावना विपरीत पनि हुने उनले बताए ।

स्थानीय तहका जनप्रतिनिधि पनि संघीयताको भावना विपरीत सांसदले बजेट बांड्न नहुने पक्षमा छन् ।

यसरी बजेट बाँडिए सम्मृद्धीको नाराभित्र सांसदले निर्वाचन खर्च उठाउने काम मात्र हुने तर्क गर्दछन् ।

मेयर ढुंगाना स्थानीय तहलाई विश्वास नगरी सांसदले बजेट परिचालन गर्न खोज्नु सुशासन विपरीत भ्रष्टाचारको पक्षमा हुने बताउँछन् ।

वास्तवमा संघीय संसदका सांसद भनेका कानुन निमार्ता हुन् । समयानुकुल कानुन निर्माण गर्दै विधिको शासन, कानुनी राज्य र सम्बृद्ध मुलुक निर्माणमा उनीहरुको ध्यान हुनुपर्छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्