सत्तारुढ दलभित्र खटपट, अरुण तेस्रोको शिलान्यास संविधानविपरीत : भुसाल • Image Khabar Image Khabar


सत्तारुढ दलभित्र खटपट, अरुण तेस्रोको शिलान्यास संविधानविपरीत : भुसाल


Imagekhabar
३१ बैशाख २०७५, सोमबार १५:१०

सत्तारुढ दलभित्र खटपट, अरुण तेस्रोको शिलान्यास संविधानविपरीत : भुसाल

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल माओवादी केन्द्रकी सांसद पम्फा भुसालले अरुण तेस्रोको शिलान्यास संविधानविपरीत भएको जिकिर गरिन् ।

कुनैपनि सन्धि–सम्झौता गर्दा संसदको दुईतिहाइले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सांसद भुसालले अरुण तेस्रोको शिलान्यास संविधानको मर्मविपरीत भएको दावी गरिन् ।

उनले नेपालको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठ्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भारतबाटै सैन्य कमान्डो आउनु आपत्तिजनक भएको बताइन् ।

‘सुरक्षा दिन नसक्ने भए किन विदेशी उच्च अधिकारी बोलाउने ?’ सांसद भुसालको प्रश्न थियो ।

सांसद भुसालले सीमा समस्या, डुबान र विराटनगरको बेस क्याम हटाउने विषयमा कुनै छलफल नगरिएको भन्दै दुई देशबीचका समस्या यथावत् रहेको टिप्पणी गरिन् ।

नेकपा एमालेका सांसद भीम रावलले जनकपुरमा नागरिक अभिनन्दनकाक्रममा प्रदेश नम्बर–२ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति र राष्ट्रिय झन्डाको व्यवस्थापनले कूटनीतिक मर्यादालाई कमजोर पारेको बताए ।

प्रधानमन्त्री लम्पसारवादी : गगन थापा
यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणकाक्रममा प्रधानमन्त्री ओली ‘लम्पसारवादी’ बनेको आरोप लगाए ।

उनले ‘संविधान जारी गर्दा नाकाबन्दी लगाउने प्रधानमन्त्री मोदीको भ्रमण कुन दृष्टिकोणले सफल भयो ?’ भनी प्रश्न गरे ।

बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले ‘नाकाबन्दी बिर्सेको छैन’ भन्ने ब्यानर हटाउन पार्टी कार्यालयमा प्रहरी लगाएको घटनाप्रति आपत्ति जनाउँदै राष्ट्रियताको विषय र स्वतन्त्रताको विषयमा बोल्न पाउनुपर्ने बताए ।

सांसद प्रेम सुवालले मोदीको सुरक्षाको नाममा सैन्य कमान्डो तैनाथ गर्नु नेपाललाई भारतको उपनिवेश बनाउनुसरह भएको टिप्पणी गरे ।

यस्तै, संघीय समाजवादी फोरम नेपालका सांसद मोहम्मद इस्तियाक राईले प्रदेश–२ का मुख्यमन्त्री राउतले आफ्नो प्रदेशको समस्याबारे अवगत गराउनु कूटनीतिक मर्यादाविपरीत नभएको जिकिर गरे ।

सांसद दुर्गा पौडेलले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणकाक्रममा पत्रकारलाई समाचार संकलन गर्न अवरोध गरेकोप्रति सरकारको धारणा माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्