आम्दानी दोब्बर हुनेभएपछि जापानी प्रविधिबाट लोक्त्ता बनाउन सिक्दै कृषक • Image Khabar Image Khabar


आम्दानी दोब्बर हुनेभएपछि जापानी प्रविधिबाट लोक्त्ता बनाउन सिक्दै कृषक


Imagekhabar
१ जेष्ठ २०७५, मंगलवार १२:१८

आम्दानी दोब्बर हुनेभएपछि जापानी प्रविधिबाट लोक्त्ता बनाउन सिक्दै कृषक

जितेन्द्र भण्डारी/ईमेज:
पाँचथर, जेठ १ । परम्परागत रुपमा बनाइँदै आएको लोक्ताले भाउ कम पाउने र मेहनत बढी गर्नुपर्ने भएपछि पाँचथर फिदिम नगरपालिका वडा नम्बर ३ का अर्गेली खेती गर्ने कृषक उन्नत जापानीज प्रविधिबाट तयार पारिने लोक्ता बनाउन सिकिरहेका छन् ।

फिदिम नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरले गरेको तालिममा उनीहरुलाई आवश्यक सामाग्री सहित लोक्ता बनाउन सिकाइएको सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देवी न्यौपानेले बताए ।

खाली र भिरपाखाका जग्गामा समेत अर्गेली खेती हुने भएकाले कृषकलाई नयाँ र आधुनिक प्रविधिबाट तालिम दिएर राम्रो आयआर्जन गर्न सघाएको न्यौपानको भनाइ छ । ।

उन्नत र जापनिज प्रविधिबाट लोक्ता तयार हुनेभएपछि त्यसक्षेत्रका अर्गेलीखेती गर्ने कृषकसमेत उत्साहित भएका छन् ।

परम्परागत रुपमा मात्रै अर्गेलीबाट लोक्ता तयार गर्दे आएका उनीहरुले पहिले ८० देखि ८५ रुपैया प्रतिकेजीमा लोक्ता बेच्दथे ।

तर जापानिज प्रविधीबाट लोक्ता तयार गर्न सके प्रतिके.जी.४ सय देखि ४ सय ५० रुपैयाँमा बिक्री हुने भएपछि उनीहरु हर्षित भएका हुन् ।

पाँचथरको साविकका १८ वटा गाविसमा अर्गेली खेती हुन्छ । तर यहाँका अधिकांश कृषकले परम्परागत रुपमा लोक्ता तयार गर्दा सस्तोमा अर्गेली बेच्न परेको छ ।

जापानिज प्रविधिबाट लोक्ता तयार गर्न एउटा सिल पोलिथिन, ट्रम्प, फलामका पाइप, त्यसपछि अर्गेलीलाई आगो पकाएर ताछेर सुकाउनुपर्ने प्रशिक्षक सगीता मादेनको भनाइ छ ।

अर्गेलीबाट तयार हुने लोक्ताबाट स्थानीयस्तरमै हाते कागज, सरकारी कागजात बनाउन, घरजग्गाको नक्शा बनाउन, चिना, तमसुक बनाउन नेपाली कागज प्रयोग गरिन्छ ।

सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरले यस वर्ष जिल्लाको अर्गेली खेती हुने दश स्थानमा जापानिज प्रविधिबाट तालिम दिँदैछ ।

उनीहरुले जापानिज प्रविधिबाट बनाएको लोक्ताको बजार खोज्न भने सम्बन्धित निकायहरु र राज्यले पहल गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्