६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


सद्भाव र एकताको प्रतीक छठ पर्व


0
Shares

नारायण ढुंगाना (रासस)

काठमाडौं, कात्तिक २७ । काठमाडौं, बागबजारकी बुद्धलक्ष्मी श्रेष्ठले छठ मनाउन थालेको लामो समय भयो । उनी हरेक छठ पर्वमा विभिन्न तलाउ पुगेर सूर्यलाई अर्घ्य दिँदै पूजा–आराधना गर्छिन् ।

‘म सादा पूजा गर्छु । छठीमाईको श्रद्धा गर्न मन लाग्छ । ज्यानले सकुन्जेल कहिल्यै छुटाउँदिन’–श्रेष्ठले भनिन्–‘जुनसुकै जातिको पर्व भएपनि आत्मैदेखिको श्रद्धा जाग्छ ।’ चाडपर्वले एकतामा बाँध्न सहयोग गर्ने श्रेष्ठको भनाइ छ ।

काठमाडौं, घट्टेकुलोमा बस्दै आएकी काभ्रेकी निमा लामाले डिल्लीबजारकी कन्नक जैनसँगै मंगलबार कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन् । बुधबारको उदाउँदो सूर्यलाई पनि उनी अर्घ्य दिने तयारीमा छिन् ।

छठीमाईको दर्शन गर्दा चिताएको कुरा पुग्छ भनेर पूजा गर्न आएको लामाले बताइन् ।

उनीजस्तै भगवती पाण्डे र संगीता पाण्डेले पनि मंगलबारै दियोमा बत्ती बालेर साँझ ५ बजे अस्ताउँदो सूर्यलाई अर्घ्य दिए ।

तलाउका किनार फलफूल, नैवेद तथा पूजाका सामग्रीले भरिएका छन् । भोगटे उखु, केरा, नरिवल, मिठाइलगायत विभिन्न परिकारसहित छठीमाईको पूजामा भक्तालु मग्न छन् ।

आ–आफ्नो समूहमा आएका उनीहरुले तलाउमा स्नान गरी पूजा–आराधना गरेर मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । बुधबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिइने तयारी गरिएको छ ।

परिवारको सुख–शान्ति समृद्धिको कामना गर्दै मनाइने छठ विगतमा काठमाडौं, रानीपोखरीमा भव्यरुपमा मनाइन्थ्यो । तर, अहिले रानीपोखरी जीर्णाेद्धार नभइसकेकाले छठ मनाउनेको भीड कमलपोखरीमा पुग्यो ।

तराईका समुदायले मनाउँदै आएको चाड अहिले राष्ट्रिय एकता र सद्भावको प्रतीककारुपमा विकास भएको बताउँछन्, कमलपोखरी छठपूजा समितिका अध्यक्ष राजेन्द्र सिंह ।

उनी भन्छन्–‘तराईका केही सहरमा मनाइने छठ अहिले सबै नेपालीलाई एक सूत्रमा बाँध्ने साझा पर्व भएको छ । यसलाई अझै भव्य बनाउन हामी लागेका छौं ।’

अहिले काठमाडौंका रैथाने नेवार समुदायदेखि विभिन्न जातजातिका व्यक्ति छठलाई विशेष पर्व नै बनाउनका लागि तल्लीन छन् । छठका लागि सबै समुदाय मिलेर कमलपोखरीलाई सजाइएको छ ।

पूजाआजामा सहभागी २६० स्टलमा मिश्रित समुदायको सहभागिता रहेको मेला आयोजक समितिले जनाएको छ ।

कमलपोखरीमा छठ मनाउन थालिएको ८ वर्ष भयो । त्यसअघि कुरुपझैं रहेको पोखरी अहिले झकिझकाउ पारेर सजाइएको छ ।

त्यसो त काठमाडौं, गुह्वेश्वरीको गौरीघाट, थापाथली, कालिमाटी, बल्खु, नागपोखरीलगायत क्षेत्र छठ पूजाका लागि रंगिएको छ । पायकपर्ने ठाउँमा झक्तजन पुगेर पूजाआजामा व्यस्त छन् । ती क्षेत्रमा भजन–कीर्तनसहित सांगीतिक कार्यक्रमसमेत आयोजना गरिएका छन् ।

मुलुकका विभिन्न जिल्लामासमेत यसैगरी छठको रौनक छाएको छ । नेपालका अन्य पर्वजस्तै छठलाई पनि महत्वपूर्ण पर्वकारुपमा मानिँदै आएको छ ।

अग्रवाल सेवा समाजका महेशकुमार अग्रवाल साझा पर्वकारुपमा छठ पर्व मनाउन थालिएकामा खुसी व्यक्त गर्छन् ।

मिथिला संस्कृतिमा आधारित छठ पर्व वि.सं. २०४६ पछि काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो ।

यो पर्व अहिले पहाडी र मधेसीको सम्बन्ध जोड्ने पुलकारुपमा विकास हुँदै गएको छ ।

छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कार्यक्रममा सरिक भएर सूर्यलाई अर्घ्य दिइ पूजा–अर्चनासमेत गरेका छन् ।

मंगलबार छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वको सम्पूर्ण शक्तिको स्रोत सूर्य हो ।

यस पर्वमा उपासनाको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, प्रयोग हुन्न । छठको मुख्य दिन मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइन्छ भने बुधबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिन्छ ।

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक सुख –समृद्धिका लागि छठको पूजा–आराधना गर्ने गरिन्छ ।