यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार • Image Khabar Image Khabar


यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार


Imagekhabar
१ जेष्ठ २०७५, मंगलवार २०:५६

यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार

मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघ–संस्थाहरुको चल, अचल सेयर, सम्पत्तिको विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका प्रमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जीवी नेपाललगायतको उपस्थिति रहेको थियो ।

यसअघि, एकाधिकार हटाउने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत वैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नाका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो ।

सोक्रममा गृह मन्त्रालयको निर्देशनअनुरुप देशभर २४५ ओटा यातायातसम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरिएको थियो ।

मंगलबारको बैठकले बैंक खाता रोक्का गरिएका ती समितिबाहेक संस्था दर्ता ऐनअनुसार दर्ता भएका अन्य समिति तथा संस्थाहरुकोसमेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयमार्फत् बाँकी रहेको सम्पूर्ण यातायात समितिहरुकोसमेत खाता रोक्का गर्ने र उक्त समितिहरुमा के–कति रकम रहेको छ सोको विवरण तयार पार्ने निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्