
स्थानीय कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनहरुको प्रबद्र्धनका लागि यही जेठ ११ देखि १३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
‘घाँटु, रोधी, हाम्रो संस्कृति, सिउरुङ महोत्सवमा जाऔं, दीगो आर्थिक विकासका लागि पर्यटन क्षेत्रमा सहभागी होऔं’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवमा स्थानीय कला, संस्कृति झल्कने झाँकीहरुका साथै हस्तकलाका सामग्रीहरुको प्रदर्शन गरिनेछ ।
महोत्सवमा आर्गानिक खानाका परिकार, कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, ऊन र धागोबाट निर्मित झोला, पछ्यौरालगायतका सामग्रीहरुको प्रदर्शन गरिने महोत्सव मूल आयोजक समिति तथा सिउरुङ ग्रामीण पर्यटन विकास उपसमितिका अध्यक्ष नन्द घलेले बताए ।
१८५४ मिटरको उचाइमा
समुद्री सतहदेखि करिब १ हजार ८५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङ पुग्न सदरमुकाम बेसीसहरबाट पैदलै जाँदा एकदिन लाग्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिउरुङ गाउँमा गुरुङ जातिको घना बस्ती छ ।
यहाँ १७ घरमा होमस्टे (घरबास)को प्रबन्ध छ । विभिन्न हिमशृंखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मीयता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता हो ।
सडक निर्माणपछि अन्नपूर्ण पदमार्गको वैकल्पिक मार्गमा पर्ने सिउरुङ गाउँमा वार्षिक हजार बढी विदेशी पर्यटक पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्