
४८ वर्षीय शेर्पाले आरोहणको चौथो दिन बुधबार बिहान ८ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको सरकारका तर्फबाट सगरमाथा आधारशिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
कामीरिताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पाइला टेकेका आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेका हुन् ।
सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५, थामेका कामीरिता योसँगै विश्वको अग्लो शिखरमा सबैभन्दा बढी पाइला टेक्ने आरोही बनेका छन् ।
उनले ८ हजार मिटरभन्दा अग्ला पाँचओटा हिमाल आरोहण गरिसकेका छन् ।
उनले विश्वकैै जोखिमपूर्ण मानिएको पाकिस्तानको माउन्ट केटुसहित ल्होत्से, चोयु र मनास्लुको यसअघि नै आरोहण गरिसकेका छन् ।
सन् १९९२ बाट समारमाथाको आरोहण थालेका उनले पहिलो सफल आरोहण सन् १९९४ मे १३ मा गरेका थिए ।
चार वर्ष क्याम्प–२ देखि चुचुरोसम्म ‘रोप फिक्सिङ’ अर्थात् डोरी टाँग्ने टोलीको नेतृत्व गरेका कामीरिताले एकै वर्षमा दुईपटकसम्म सगरमाथाको सफल आरोहण गरेका छन् ।
पर्यटक गाइड मिङ्माछिरिङ शेर्पाका छोरा कामीरिता बुवाको ३० पटक सगरमाथा आरोहण गरेको हेर्ने सपना भएपनि २५ पटकसम्म सगरमाथाको आरोहण गर्ने सोच रहेको बताउँछन् ।
चौथो दिनसम्म १४१ आरोही शिखरमा
यो वर्षको वसन्त ऋतुमा चौथो दिनसम्म १४१ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेको अधिकृत श्रेष्ठले बताए ।
पहिलो दिन मे १३ मा ८ जना नेपालीले डोरी टाँग्ने कामसँगै सगरमाथाको सफल आरोहण गरेर सुरु भएको आरोहणमा दोस्रो दिन १८ जना विदेशी र २१ जना नेपालीसहित ३९ जनाले सफल आरोहण गरेका थिए ।
तेस्रो दिन अर्थात् मे १५ का दिन मौसम प्रतिकूलताका कारण आरोहण हुन सकेन ।
बुधबार कीर्तिमानी कामीरितासहित ५३ जना नेपाली र ४१ जना विदेशी गरी ९४ जना आरोहीले सगरमाथाको शिखर चुमिसकेका छन् ।
एक आरोही बेपत्ता
यसैबीच, एकजना आरोही बेपत्ता भएको अधिकृत श्रेष्ठले जानकारी दिए । उनकाअनुसार मे १४ का दिन शिखर चुम्न गएका लामबाबु शेर्पा हराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्