
सीता पाण्डे/ईमेज:
पाल्पा, जेठ ६ । नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा रहेको पाल्पाको रानीमहल दरबार क्षेत्रमा पक्की पुल निर्माण हुने भएको छ ।
भौगोलिक विकटताका कारण आवतजावतमा कठिनाइ हुने गरेको रानीमहलमा पुल बनेपछि सहज हुने भएको हो ।
प्रेमको प्रतीक रानीमहल दरबार खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा वि.सं १९५५ निर्माण गरेका थिए ।
नेपालको ताजमहल भनेर पनि चिनिने रानीमहललाई ऐतिहासिक महत्वको रुपमा लिने गरिन्छ ।
पर्यटकीय आकर्षणको केन्द्र समेत रहे पनि रानीमहलमा आवतजावत गर्न निकै असहज छ ।
सौन्दर्यले भरिपूर्ण भएपनि आवतजावतको कठिनाइले गर्दा रानीमहल दरबार ओझेलमा पर्दै आएको छ ।
रानीमहल दरबार क्षेत्रको कालीगण्डकी नदीमा पक्कीपुल निर्माण हुने भएपछि स्थानीय वासिन्दा उत्साहित भएका छन् ।
पक्कीपुल निर्माणसँगै पाल्पा र स्याङ्जाको बाटो भएर आउने पर्यटकलाई नयाँ बाटो खुल्ने छ ।
दरबार क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सरकारले पक्की पुल निर्माणमा चासो देखाएको हो ।
पक्की पुल निर्माण भएपछि रानीमहल दरबारमा बाह्रै महिना पर्यटक निर्बाध रुपमा आवत्जावत् गर्न पाउनेछन् ।
तात्कालिन खिलराज रेग्मी नेतृत्वको सरकारले कालीगण्डकीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । यहीं माघसम्म पुल निर्माणको काम सकिने लक्ष्य रहेको छ ।
आगामी वर्षदेखि स्याङ्जाबाट पनि पर्यटकले सवारी साधन लिएर रानीमहलको अवलोकन गर्न सक्ने पुल निर्माण पश्चिम क्षेत्र नं. ४ का डिभिजन प्रमुख कृष्ण प्रसाद भण्डारी बताउँछन् ।
हाल पुल निर्माणको काम ६० प्रतिशत सकिएको र असार मसान्त सम्म ७५ प्रतिशत काम सकिने सपना हिमढुङ एण्ड ठोकर र त्रिशुलीले जेभीले जनाएको छ ।
पुलको ४५ मिटरका ४ वटा स्पान मध्ये २ वटा पुरा भएको असार मसान्तसम्म ३ वटा पुरा हुने र आगामी बर्षदेखी पुल संचालनमा आउने निर्माण कम्पनीका सुपरभाईजर श्रीजन बर्तोलाले बताए ।
पुल निर्माण पुरा भएपछि बुटवल, तानसेन रानीघाट हुदै उत्तरी गुल्मी, पश्चिम स्याङ्जा जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ ।
अन्य मार्ग अबरुद्ध हुँदा समेत यस मार्गलाई वैकल्पिक मार्गका रुपमा उपयोग गर्न सकिन्छ । आवतजावत सहज हुने भएपछि यस क्षेत्रमा पर्यटकहरुको चहलपहल पनि बढ्ने विश्वास धेरैको छ ।
प्रतिक्रिया दिनुहोस्