सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् • Image Khabar Image Khabar


सरकारको नीति तथा कार्यक्रम प्रस्तुत्


Imagekhabar
७ जेष्ठ २०७५, सोमबार १७:०५

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत्

राष्ट्रपति भण्डारीबाट वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा सोमबार अपराह्न प्रस्तुत् गरेकी हुन् ।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो ।

राष्ट्रपति भण्डारीले अपराह्न ४ बजेर १० मिनेटमा संयुक्त सदनलाई सम्बोधन गर्न सुरु गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी नयाँबानेश्वरस्थित संसद भवनमा आगमन हुँदा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङ, संसद सचिवालयका महासचिवसहित सचिवालयका उच्च अधिकृतले स्वागत गरेका थिए ।

सोही अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो ।

सरकार गठन भएको ठीक तीन महिनापछि सोमबार सरकारले आफ्नो नीति तथा कार्यक्रम सदनमार्फत् सार्वजानिक गरेको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भइ नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि सरकारले प्रस्तुत् नीति तथा कार्यक्रमलाई सर्वत्र उत्सुकतापूर्वक हेरिएको छ ।

व्यवस्थापिका–संसद भवनलाई रंगीचंगी ध्वजा पताकाले दुलहीजस्तै गरी सिँगारिएको छ । दुवै सदनका सांसदहरु दौरा सुरुवाल अनि आ–आफ्नो जातीय परम्परा झल्किने पोसाकमा उपस्थित छन् ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति प्रस्तुत् गर्न प्रदान गरेका थिए ।

संविधानबमोजिम राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछन् ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रमको विशेष समारोहमा राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखहरुको पनि उपस्थिति रहेको छ ।

नेपालको संविधानमा माथिल्लो सदनकारूपमा राष्ट्रियसभा र तल्लो सदनकारूपमा प्रतिनिधिसभा छन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहेको राष्ट्रियसभा ५९ सदस्यीय तथा प्रतिनिधिसभा २७५ सदस्यीय छन् ।

संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

संयुक्त बैठक सकिएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठकले राष्ट्रपतिबाट भएको सम्बोधनप्रति धन्यवाद दिनेछ ।

सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिइनेछ ।

त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत् भइ पारित हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्