मेची–महाकाली, काठमाडौं–वीरगन्ज, रसुवागढी–लुम्बिनी रेलमार्ग निर्माण अघि बढाइने • Image Khabar Image Khabar


मेची–महाकाली, काठमाडौं–वीरगन्ज, रसुवागढी–लुम्बिनी रेलमार्ग निर्माण अघि बढाइने


Imagekhabar
७ जेष्ठ २०७५, सोमबार १९:१०

मेची–महाकाली, काठमाडौं–वीरगन्ज, रसुवागढी–लुम्बिनी रेलमार्ग निर्माण अघि बढाइने

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/२०७६ को नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै सडकको रेखांकन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरिन् ।

पाँच वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गरिनेछ ।

चुरे तथा भित्रीमधेसका उपत्यकालाई आर्थिक तथा औद्योगिक कोरिडोरकारुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइने उल्लेख छ ।

पाँच वर्षभित्र स्थानीय तहका केन्द्रलाई कालोपत्र सडकले जोडिनेछ ।

सरकारले नदी किनारमा सडक निर्माण गर्ने नीति पनि लिनेछ ।

मेची–महाकाली, काठमाडौं–वीरगन्ज, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनीसम्मको रेलमार्ग निर्माण अघि बढाइने भएको छ ।

कोसी, गन्डकी र कर्णाली नदीमा जल यातायात सन्चालन गर्न कानुनी, नीतिगत र संस्थागत व्यवस्था गरिने भएको छ ।

पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्ने नीति सरकारको रहनेछ ।

पूर्वाधार विकासका लागि सार्वजनिक खरिद, जग्गाप्राप्ति, वन क्षेत्रको प्रयोग र वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी नीति, कानुन र प्रक्रियालाई सरल बनाइने नीतिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्