२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सुर्खेतका लागि हेलिकोप्टर चढेका गृहमन्त्री चितवनमा, नारायणगढ-मुग्लिन सडकखण्डको काम छानविन गर्न निर्देशन


0
Shares

चितवन, जेठ ८ । गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानविन गर्न निर्देशन दिइएको बताएका छन् ।

सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानविनपछि मात्र भन्न सकिने बताए । सो सडकको चौथो पटक समय थप गरी सकिएको छ ।

पछिल्लो समय पनि जेठ १६ गते सकिँदैछ ।

हालसम्म ८८ दशमलव १४ प्रतिशत मात्र काम सकिएको छ । यो सडक राजधानी जोड्ने लाइफलाइन हो ।

जिल्लाको शान्ति सुरक्षा मजबुत राख्न निर्देशन दिएका मन्त्री थापाले हावाहुरी र असिना पानीबाट क्षति भएको केरा, मकै र बर्डफ्लुबाट भएको प्रभावका बारेमा जानकारी लिएका थिए । उनले विप्लव समूहले आफ्नो गतिविधि देखाइरहेको भन्दै रोक्नका लागि के कस्ता काम भइरहेको छ भन्ने विषयमा जानकारी लिएको छन् ।

गृहमन्त्री थापाले यातायात सिण्डिकेट रोकिएपछिको प्रभाव र समयमा काम नगर्ने ठेकेदारको अवस्थाका बारेमा पनि जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिएका छन् ।

सो क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जिल्लामा हावाहुरी र असिनाबाट भएको क्षति, बर्डफ्लुबाट परेको प्रभाव, विप्लव निकट नेकपाको गतिविधि, आपराधिक गतिविधि, सडक सुरक्षालगायतका विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, गृहप्रवक्ता रामकृष्ण सुवेदीलगायतको उपस्थिति थियो ।

झण्डै दुईघण्टा चितवनमा बसेपछि मौसम अनुकूल बनेसँगै गृहमन्त्री थापासहितको टोली सुर्खेत प्रस्थान गरेको छ । (रासस)