
प्रकाश नेपाल/ईमेज:
इलाम, जेठ ८ । इलाममा विमानस्थल निर्माण सुरु भएको पाँच वर्ष बितिसकेको छ । तर विमानस्थल निर्माणको काम अझै सकिएको छैन ।
निर्माणको काम सुरु भएदेखि नै यहाँका बासिन्दाले त्रास मात्र बेहोर्नुपरेको छ ।
इलाम नगरपालिका–९ सुकिलुम्बामा निर्माणाधीन फाल्गुनन्द विमानस्थलको काममा ढिलाई हुँदा नागरिकले सास्ती बेहोर्नुपरेको छ ।
विमानस्थल निर्माणको कामले गति लिन नसकेपछि वर्षातका बेला आउने बाढी र पहिरोका कारण स्थानीयले त्रास बेहोर्नुपरेको हो ।
पाँच वर्ष अघिदेखि निर्माणाधीन विमानस्थलमा वर्षामा आउने भेल व्यवस्थापन गर्न नसक्दा आफूहरु त्रासको जिवन विताउन बाध्य भएको स्थानीय नरमाया खातीले बताए ।
बाढी र पहिरो नियन्त्रणका लागि गत वर्ष ८ करोड १६ लाख रुपैयाँको लागतमा ठेक्का लगाइएको थियो ।
चालू आर्थिक वर्षका लागि सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको नागरिक उड्डययन प्राधिकरणले जनाएको छ ।
तर पनि नाली व्यवस्थापनको कार्य अधुरै रहेको छ । विमानस्थलभन्दा तल रहेका दर्जनौँ परिवार घरमाथीको पहाड बगेर घरबार बगाउछ कि भन्ने त्रासमा बाँचिरहेका छन् ।
गत चैत्र मसान्तभित्र परीक्षण उडान गर्ने भनिएपनि काम नसकिँदै वर्षाले धावनमार्गको माटो बगाइसकेको छ ।
हवाइ मैदानमा माटो फिलिङको काम भइरहेको समयमा पानी परेपछि धावनमार्गको अवस्था झन विजोग बनेको छ । नाली व्यवस्थापन राम्रोसँग नगर्दा यस्तो अवस्था आएको स्थानीय प्रेम खतिवडा बताउँछन् ।
१८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि सरोकारवाला निकाय र व्यक्तिबाट तीन सय २६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
६० मिटर चौडा र सात सय ६० मिटर लम्वाई भएको कच्ची धावनमार्ग निर्माणाधीन छ ।
समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ ।
५ वर्षमा काम सकिने भनिएपनि अहिले काम सुरु भएको ६ वर्ष हुन लागेको छ ।
तर काम कहिले सकिन्छ भन्नेमा अझै अन्योल देखेर स्थानीयले गुनासो पोख्न थालेका छन् । तसर्थ जिम्मेवार निकायले गम्भीरतापूर्वक मनन गरी यथाशक्य छिटो काम पुरा गर्न आवश्यक छ ।
पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको यस विमान स्थलको काम चाँडो सम्पन्न गरिनु पर्ने स्थानीयको माग छ ।
प्रतिक्रिया दिनुहोस्