१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बन्ने भयो सोह्रखुट्टे पाटी (भिडियो रिपोर्ट)


0
Shares

स्थानीय वासिन्दा, महानगरपालिका र पुरातत्व विभाग पाटी पुनःनिर्माण गर्ने अभियानमा जुटेका छन् ।

कुनैबेला काठमाडौंदेखि पश्चिमबाट उपत्यकामा प्रवेश गर्नेहरु सहर पस्नुअघि बास बस्ने स्थानकारुपमा रहेको सोह्रखुट्टे सत्तलको अहिले नाम–निशान छैन ।

उतिबेला बास बस्न र खेतबारीमा काम गर्ने किसानका लागि ओत लाग्न तथा थकाइ मेट्नका लागि निर्माण गरिएको सोह्रखुट्टे पार्टी सडक विस्तारकाक्रममा वि.सं. २०७१ सालमा भत्काइयो ।

त्यसैपनि वर्षौंदेखि जीर्ण अवस्थामा रहेको पाटी भत्काएर सोही ठाउँबाट सडक निर्माण गरियो । तर, अहिले उक्त पाटी पुनःस्थापना गर्ने अभियान सुरु भएको छ ।

स्थानीय वासिन्दाले पाटीको पुनःनिर्माण गर्न दबाब दिएपछि पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले प्रक्रिया अगाडि बढाएको छ ।

पुरातत्व विभाग र महानगरपालिकाले पहिले पाटी रहेको स्थानबाट अलि पर पाटी निर्माण गर्न खोजेकामा स्थानीय वासिन्दाले भने पहिलेकै स्थानमा पुनःस्थापना हुनुपर्ने माग गरेका छन् ।

महानगरपालिकाले पाटी बनाउन प्रस्ताव गरेको ठाउँमा ढुंगेधारा पुरिएको भन्दै ढुंगेधारा र पाटी यथास्थानमा पुनःस्थापना गर्नुपर्ने माग सोह्रखुट्टे पाटी पुनःनिमार्ण संघर्ष समितिका अध्यक्ष कृष्णकुमार ढकाल र स्थानीय अभियानकर्ता प्रेमराज शिल्पकारको रहेको छ ।

पुरातत्व विभाग र महानगरपालिकाले पाटी पुनःस्थापना गर्नेक्रममा ढुंगेधारा मास्न नहुने स्थानीय जयप्रकाश श्रेष्ठलगायतको भनाइ रहेको छ ।

१६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालले ढुंगेधारामाथि पाटी बनाउने निर्णयमा आफूहरु सहमत नरहेको भन्दै ढुंगेधाराको संरक्षण हुनुपर्ने विषयमा महानगरपालिका पनि सहमत रहेको बताए ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले स्थानीय जनताको सल्लाहमा नै विज्ञहरुलाई सम्मेलित गराइ पाटी रहेको पुरानो स्थान आसपासमै स्थानान्तरण गरेर पुनःनिमार्ण गर्नसकिने बताए ।

भिडियो हेर्नुहोस्