
सरोज अधिकारी/राममान डंगोल (इमेज)
काठमाडौं, कात्तिक २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारकाविरुद्ध आन्दोलनमा जाने तयारीमा जुटेको छ ।
सत्तारुढ दलका नेताहरुले नै सरकारले काम गर्न नसकेको आरोप लगाइरहेका बेला प्रतिपक्षी दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा डुबेको र स्वेच्छाचारिता बढेको भन्दै त्यसकाविरुद्ध अभियान सन्चालन गरिने बताएका छन् ।
नेता पौडेलले आफ्नै पार्टी सन्चालन पद्दतिमा पनि असन्तुष्ट छन् ।
उनले पार्टीभित्र थुप्रै समस्या रहेको र त्यसको कारक नेतृत्व भएको बताएका छन् ।
पार्टी विधानमा सभापतिलाई अधिकार थप्नु आवश्यक नभएको बताउँदै उनले पदाधिकारी भने थप्नुपर्ने तर्क गरेका छन् ।
प्रभावकारी प्रतिपक्षी नहुँदा सरकारको स्वेच्छाचारिता बढेको बहस अहिले यत्रतत्र सर्वत्र छ । सरकारी कामप्रति खबरदारी गर्दै दर्बिलो बन्नुपर्ने प्रतिपक्षी अहिले आफैंभित्र हराएको छ ।
पार्टीभित्रै लफडामा फसेको कांग्रेसलाई विवाद मिलाउन हम्मे–हम्मे परिरहेको छ । पार्टी विधान परिमाजर्नका लागि महासमिति बैठक बोलाइएको छ ।
तर, विधान मस्यौदा समितिले विधानको टुंगो गर्न नसक्दा महासमिति बैठक नै पटक–पटक स्थगित गर्नुपरिरहेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको अधिकार नथपी केही पदाधिकारीमात्र थपेर विधानलाई टुंगो लगाउनुपर्ने तर्क गर्छन् । तर, यस विषयमा विवाद निरुपणका लागि छलफल नै नगरिएको पौडेलको आरोप छ ।
पार्टी नेतृत्वको कार्यशैलीका कारण दर्बिलो प्रतिपक्षीसमेत बन्न नसकिएको भन्दै वरिष्ठ नेता पौडेल ‘मुख छँदा–छँदै नाकले पानी नखाने’ नीति आफूले बोक्दा पार्टी संकटमा परेको तर्क गर्छन् ।
सरकारको काम–कारबाहीप्रति विपक्षी सन्तुष्ट हुने कुरै भएन । तर, आफैंभित्र धेरै लफडा भएपछि कसले अरुकाबारेमा बोलिदिने भन्ने अन्योलमा पनि छ, कांग्रेस अहिले ।
वरिष्ठ नेता पौडल सरकार पूर्णरुपमा असफल भएको, स्वेच्छाचारितामा रमाउँदै भ्रष्टचारमा लिप्त रहेकाले अब त्यसकाविरुद्ध आन्दोलन गर्नुपर्ने बताउँछन् ।
कम्युनिस्टहरुले बोल्ने एउटा र गर्ने काम अर्के भएको बताउँदै जनतामा राजनीति र नेताहरुप्रति नै वितृष्णा आएको ठम्याइ छ, नेता पौडेलको ।
वरिष्ठ नेता पौडेल पार्टीमा उपसभापति थपिएको विषयमा आफ्नो असहमति नरहेको भन्दै ‘प्रक्रियामात्र मिलाएको भए हुन्थ्यो’ भन्छन् ।
अघिल्लो हप्ता बसेको केन्द्रीय कार्यसमिति बैठकले विजयकुमार गच्छादारलाई कांग्रेस उपसभापति मनोनीत गरेपछि विवादै–विवादमा रहेको कांग्रेसमा नयाँ विवाद थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्