२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बैतडीका किशोरीहरुलाई आइरन चक्की खुवाइने


0
Shares

बैतडी, जेठ ११ । गर्भवती आमा र किशोरीहरुलाई रक्तअल्पता बढ्दै गएको भन्दै बैतडीका किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ ।

पछिल्लो समय गर्भवती आमा र किशोरीहरुलाई रक्तअल्पता बढ्दै गएको भन्दै यसबाट जोगाउन आइरन चक्की खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए । किशोरीहरुमा रक्तअल्पता बढ्दै गएपछि रगतको मात्रा बढाउन जिल्लाका २८ हजारभन्दा बढी किशोरीलाई आउँदो साउन महिनाबाट आइरन चक्की र फोलिक एसिड खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको जनाएको छ ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा ४४ प्रतिशत किशोरीमा रक्तअल्पता पाइएको थियो । सन् २०११ मा गरिएको सर्वेक्षणमा ३९ प्रतिशत किशोरीमा रक्तअल्पता पाइएकोमा २०१६ सम्म यो संख्या वृद्धि हुँदै गएको पाइएको छ ।

सोही सर्वेक्षणलाई आधार मानेर जिल्लामा रहेका किशोरीहरुमा पनि आइरन चक्की र फोलिक एसिड खुवाउन लागिएको पाण्डेयले बताए ।

हेल्थ असिष्टेन्ट पाण्डेयका अनुसार जिल्लामा रहेका १० वर्ष देखि १९ वर्षका किशोरीहरुलाई हप्तामा एक चक्की लगातार १३ हप्तासम्म आइरन चक्की र फोलिक एसिड खुवाइनेछ । आईरन चक्की खुवाउनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भईसकेको छ ।