२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


साँफेबगर विमानस्थलमा समिट एयरको परीक्षण उडान सफल


0
Shares

अछाम, जेठ ११ । विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ ।

विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि समिट एयरको १९ सिट क्षमताको विमानले परीक्षण उडान गरेको हो । उक्त एयरको विमान बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थलमा अवतरण गरेको थियो ।

तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ्चालन आए पनि २०६२ सालदेखि पूर्णरूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको थियो ।

निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पुरा भएको बताएको छ । विमानस्थलको पाँच सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरिएको छ । भ्याटसहित ११ करोड ५० लाख रुपैयाँको लागतमा कालोपत्रे भएको हो ।

पहाडी क्षेत्रका विमानस्थलमध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ । प्रदेश ७ को दुईवटा विमानस्थल रहेको एकमात्र पहाडी जिल्ला अछाम हो । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल छन् ।

जिल्लामा दुईवटा विमानस्थल भए पनि कुनै पनि सञ्चालनमा नहुँदा स्थानीयले लाभ लिन सकेका छैनन् । विमानस्थल सुचारु भए आवतजावतमा सजिलोका साथै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्नेमा कमी आउने स्थानीयबासीको बुझाइ छ ।

२०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा थियो । तर, कमलबजार विमानस्थल सञ्चालनका लागि भने अझै पहल नहुँदा गौचरणमा परीणत भएको छ ।