ओली सरकारका १०० दिनः के भयो/भएन ? (भिडियो रिपोर्ट) • Image Khabar Image Khabar


ओली सरकारका १०० दिनः के भयो/भएन ? (भिडियो रिपोर्ट)


Imagekhabar
११ जेष्ठ २०७५, शुक्रबार १९:३३

ओली सरकारका १०० दिनः के भयो/भएन ? (भिडियो रिपोर्ट)

१०० दिनको यस अवधिमा सरकारले बाह्य सम्बन्ध सुधार, सुशासन प्रबद्र्धन र समृद्धिको खाका कोर्ने मामिलामा केही उपलब्धि हासिल गरे पनि नागरिकको जीवनस्तरमा परिवर्तन आउने गरी ठोस नतिजा देखाउन भने सकेन ।

केपी शर्मा ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओलीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद गठन गरे भने फागुन १४ मा दोस्रो र चैत २ गते तेस्रोपटक विस्तार गरी मन्त्रिपरिषदको आकार २२ सदस्यीय पुर्‍याएका छन् ।

प्रधानमन्त्रीको पहिलो १०० दिनलाई सरकारको ‘हनिमुन’ अवधि मानिन्छ । यस आधारमा सरकारले आजबाट हनिमुन अवधि पनि पूरा गरेको छ । र, सरकारको उपलब्धिको समीक्षा पनि सुरु भएको छ ।

ओलीले प्रधानमन्त्रीको पदभारग्रहण गरेसँगै अबको अभियान ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुने घोषणा गरेका थिए ।

संयुक्त घोषणापत्र बोकेर निर्वाचनमा गएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको मूल नारा पनि राजनीतिक स्थिरता र आर्थिक समृद्धिकै थियो ।

सरकारले यो अवधिमा ल्याएको नीति तथा कार्यक्रम र गरेका हरेकजसो भाषणमा आर्थिक समृद्धिमै जोड दिएको छ । यद्यपि, परिणाममा भने ठोस नतिजा देखिन नसकेको गुनासो सर्वसाधारणको छ ।

तर, सरकारका प्रवक्तासमेत रहेका सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा भने १०० दिनको यो अवधिमा थुप्रै महत्वपूर्ण काम भएको दावी गर्छन् ।

यो अवधिमा प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतको भ्रमण गरे भने भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालको भ्रमण गरे ।

पाकिस्तानका प्रधानमन्त्री साहिद अब्बासीले पनि यही अवधिमा नेपालको भ्रमण गरेका छन् ।

सरकारले यातायात क्षेत्रको ‘सिन्डिकेट’ हटाउने, सुन तस्करीको जालो तोड्दै दोषीमाथि कारबाही गर्ने, १० वर्षदेखि भारतले विराटनगरमा राख्दै आएको ‘फिल्ड अफिस’ बन्द गराउने, चुनावी प्रतिबद्धताअनुसार पार्टी एकता गर्नेजस्ता केही देखिने काम गरेको छ भने पाँच वर्षभित्र नेपालीको आय दोब्बर बनाउने र वैदेशिक रोजगारीमा जान नपर्नेजस्ता महत्वाकांक्षी योजना अघि सारेको छ ।

यद्यपि, प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड भने सरकारले समृद्धिको सपना बाँड्ने र केही प्रचारमुखी काम गर्नेबाहेक ठोस उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गर्छन् ।

तर, सरकारका प्रवक्ता बाँस्कोटा भने सरकार सबैको साथ लिएरै मुलुकको समृद्धि यात्रामा अघि बढ्ने बताउँछन् ।

सरकारले नीतिगत स्पस्टतासँगै बजेटमार्फत् त्यसको कार्यान्वयनको ठोस खाका बनाइरहेको दावी गर्दै उनले सरकारले तत्काल जनतामा आशा जागृत गर्नेगरी बजेटमार्फत् प्रभावकारी कार्यक्रम ल्याउने, एक वर्षभित्र समृद्धिको आधार तयार गर्ने, पाँच वर्षभित्र पूर्वाधार तयार गरी समृद्धिको बलियो जग तयार गर्ने र १५ वर्षभित्र मुलुकको कायापलट हुने दावी गर्छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्