६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


ऐतिहासिक खड्ग भवानी कोतको गुठी जग्गा अतिक्रमण


0
Shares

म्याग्दी, कात्तिक २५ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक खड्ग भवानी कोतको बगरफाँटमा रहेको गुठी जग्गा अतिक्रमणको चपेटामा परेको छ ।

तत्कालिन पर्वत राज्यअन्तर्गतको शक्तिशाली थुम ज्यामरुककोटका अन्तिम राजा भर्तिबम मल्लको अन्त्यपछि खड्गभवानी कोतको नाममा रहेको १२ रोपनी ६ आना जग्गा अतिक्रमणको चपेटामा परेको हो । यो जग्गामध्ये करिव ३ रोपनी अतिक्रमण भइसकेको स्थानीयको गुनासो छ ।

जग्गा अतिक्रमण भएको बारेमा पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकाय मौन रहेको गुठीयारहरुले बताएका छन् । खड्ग भवानी कोतको नाममा जग्गाधनी प्रमाण पूर्जा रहेको करिव ३३ रोपनी जग्गामध्ये २० रोपनी जग्गा ज्यामरुककोटको भकुण्डे क्षेत्रमा र १२ रोपनी ६ आना जग्गा बगरफाँटको कुरुङदीमा रहेको खड्ग भवानी कोत पूजा एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।

अतिक्रमणको गुनासो आएपछि वडाअध्यक्षसहित समितिका पदाधिकारीले निरीक्षण गरेको भन्दै अध्यक्ष घिमिरेले छिट्टै नापी टोली लगेर अतिक्रमण भएको÷नभएको यकिन गरिने बताए ।