मोदीको भ्रमणपछि मुक्तिनाथमा भारतीय तीर्थालुको संख्या बढ्यो (भिडियो) • Image Khabar Image Khabar


मोदीको भ्रमणपछि मुक्तिनाथमा भारतीय तीर्थालुको संख्या बढ्यो (भिडियो)


Imagekhabar
१२ जेष्ठ २०७५, शनिबार १४:३९

मोदीको भ्रमणपछि मुक्तिनाथमा भारतीय तीर्थालुको संख्या बढ्यो (भिडियो)

मोदीको भ्रमणपछि भारतीय तीर्थयात्रीको संख्या उत्साहजनकरुपमा बढ्न थालेको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २९ मा मुस्ताङको पवित्र धार्मिक क्षेत्र मुक्तिनाथ पुगे । दैलैअगाडि छिमेकी प्रधानमन्त्री मोदीको आगमन हुँदा मुस्ताङका स्थानीय निकै हर्षित भए ।

आफ्नो क्षेत्रको प्रचार–प्रसार हुने आशाले हौसिएका मुस्ताङवासीले मोदीको भ्रमणलाई निकै उत्साहजनक र अवसरकारुपमा लिएका थिए ।

मोदीको मुक्तिनाथ भ्रमणले भारतीय तीर्थालुको संख्यामा अकल्पनीयरुपमा वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहाल बताउँछन् ।

गत वर्षको मे महिनामा ६ हजार ४५ भारतीय तीर्थालु मुक्तिनाथमा आएका थिए भने अहिले मे महिना नसकिँदै भारतीय तीर्थालुको संख्या करिब ९ हजारको हाराहारीमा पुगेको छ ।

दुई साताअघिको र अहिलेको तथ्यांक हेर्दा मोदीको आगमनपछि मुक्तिनाथमा आउने भारतीय तीर्थालुको संख्या ५० प्रतिशतले वृद्धि भएको छ ।

यसअघि, दैनिक १० देखि १२ उडानसम्म हुने गरेकामा मोदीको भ्रमणपछि १७ देखि १८ उडानसम्म हुने गरेको र पोखरा र काठमाडौंबाट हेली चार्टरसमेत गर्दा दैनिक २० उडानसम्म हुने गरेको जोमसोम नागरिक उड्डयनका कार्यालयका विमानस्थल प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए ।

मोदीले मुक्तिनाथ क्षेत्रमा गरेको भ्रमणको भारतीय तथा नेपाली सन्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेलगत्तै भारतीय तीर्थालुलाई यहाँ आउन उत्प्रेरणा मिलेको जोमसोमस्थित होटल मेजस्टीका सन्चालक खगेन्द्र तुलाचनको बुझाइ छ ।

मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धार्मिक तीर्थालु हवाई सेवामार्फत् मुस्ताङ आउने भएपनि मोदी भ्रमणपछि सोही अनुपातमा भारतीय तीर्थालु बस चढेर मुस्ताङ आउने गरेका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्