३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


रिजु भइन् मिस नेवाः ११३८


0
Shares

काठमाडौं, जेठ १३ । आफ्ना १६ जना प्रतिश्पर्धीलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको मिस नेवाः ११३८ को उपाधि जितेकी छन् ।

नेप्लिज फेसन होमले नेवार समुदायका युवतीहरुको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने आयोजना गरेको यो प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ ?’ भन्ने प्रश्नको सटिक जवाफ दिएर रिजुले उपाधि हासिल गरेकी हुन् ।

प्रश्नको जवाफ दिने क्रममा रिजुले ‘विपत् व्यवस्थापनका लागि हरेक व्यक्तिमा जागरुकता अर्थात सचेतना हुनु पर्छ’ भन्ने आशयको जवाफ दिएकी थिइन् ।

सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न मिस नेवाः को ग्राण्ड फिनालेमा उपाधि जितेसँगै रिजुले चम्किलो ताज, २० हजार रुपैयाँ नगदका साथमा विभिन्न उपहारहरु प्राप्त गरिन् । रिजुले पब्लिक च्वाइस अवार्डसमेत जितिन् ।

प्रतियोगितामा डा.सरिसा श्रेष्ठले फर्स्ट रनर्स अपको उपाधि जितिन् । भरखरै एमबीबीएसको अध्ययन पुरा गरेकी सरिसाले उपाधिसँगै नगद १५ हजार रुपैयाँ तथा विभिन्न उपहारहरु प्राप्त गरिन् ।

प्रतियोगितामा मतिना मानन्धरले सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भइन् । मतिनाले उपाधिसँगै नगद १० हजार रुपैयाँ पनि पाइन् । उनले मिस पर्सनालिटीको उपाधि समेत जितिन् ।

परिचयात्मक चरणबाट प्रारम्भ भएको उक्त प्रतियोगितामा सृष्टि शाक्यले पाँच हजार रुपैयाँ राशीको मिस ट्यालेन्टको उपाधि जितिन् ।

त्यस्तै अञ्जु श्रेष्ठले बेस्ट डे«स र बेस्ट हेयरको उपाधि जितिन् । सरिना महर्जनले उत्कृष्ट नेपाल भाषा, सन्ध्या श्रेष्ठले बेस्ट स्किन, मिलु श्रेष्ठले मिस डिसिप्लिनको उपाधि हासिल गरे ।

यसैगरी बिना महर्जनले बेस्ट स्माइल, प्रदीका श्रेष्ठले मिस फ्रेण्डशिप, उस्मी श्रेष्ठले मिस फोटोजेनिक तथा राधा श्रेष्ठले बेस्ट वाकको उपाधि जितिन् ।

यसबाहेक पस्मिना शाक्यले सोसल वेलफेयर एम्बेसडर चिफको उपाधि जितिन् भने सरिसा श्रेष्ठ तथा प्रज्ञा श्रेष्ठले सोसल वेलफेयर एम्बेसडरतर्फको क्रमशः फर्स्ट रनर्स अप तथा सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भए ।

नेवार समुदायको युवतीहरुलाई नेवारी संस्कृति बारे जागरुक गराउँदै उनीहरुको प्रतिभा प्रस्तुतिका लागि १३ वर्षदेखि यो प्रतियोगिता गर्दै आएको नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताईन् ।

प्रतियोगिताको निर्णायकमा प्राईम बैंकका उपप्रमुख भाइराजा तुलाधर, व्यवसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रिना डंगोल, पूर्व मिस नेवा योगिता महर्जन लगायत थिए ।

कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् ।