२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


देउवाको अडान– कसैले भन्दैमा नेतृत्व छाड्दिनँ


0
Shares

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले भन्दैमा आफूले पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् ।

नेपाल प्रेस युनियनले आफ्नो २७ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले निर्वाचित सभापतिलाई कसैले हट भन्दैमा नहट्ने बताए ।

उनले आफू निर्वाचित भएर आएकाले तीन वर्षपछि पुनः महाधिवेशन हुने र त्यतिबेला नै नेतृत्वबारे छिनोफानो हुने स्पष्ट पारे ।

सभापति देउवाले निर्वाचनमा कांग्रेस पराजयको कारण वाम एकता नै भएको दाबी गरे । कांग्रेस अरु कुनै कारणले नहारेको भन्दै उनले पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण चुनाव हारिएको भन्ने भ्रममा नपर्न आग्रह गरे ।

दुई पार्टी मिलेर चुनाव लडेकाले कांग्रेसले चुनाव हार्दा आफूले किन राजीनामा दिने भनी उनले प्रश्नसमेत गरे ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पारदर्शी एकता आवश्यक रहेको बताए । उनले आफू बनेमात्र पार्टी सप्रिन्छ भन्ने भ्रम त्याग्नुपर्ने बताए ।

उनले सांसद्लाई बजेट दिने कुरामा आफूहरु सहमत हुन नसक्ने र यसले संघीयतालाई ध्वस्त बनाउने दाबी पनि गरे ।

महामन्त्री शशांक कोइरालाले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ अग्रसर देखिएको भन्दै आन्दोलनका लागि तयार रहन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

अर्का महामन्त्री विमलेन्द्र निधिले सरकारका सय दिन कम्युनिस्टहरुको एकता र भारतलाई रिझाउन मै खर्च भएको बताए । उनले सय दिनभित्र राज्यको साधनस्रोतको दोहन भए पनि जनताले केही नपाएको दाबी गरे ।