शिखर वार्ताको तयारीका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा • Image Khabar Image Khabar


शिखर वार्ताको तयारीका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा


Imagekhabar
१४ जेष्ठ २०७५, सोमबार १०:०२

शिखर वार्ताको तयारीका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

वासिङ्टन, जेठ १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ ।

आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहरुले जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि वार्ताको आवश्यक तयारी सुरु भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको छ, यसले आगामी उक्त वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ ।’

उनले ट्वीटमा उत्तर कोरियाको निकै प्रसंशा पनि गरेका छन् । उनले भनेका छन्, ‘मेरो अनुभवका आधारमा भन्दैछु कि उत्तर कोरियासँग आफ्नो देशको सम्पन्नताका लागि निकै ठूलो अवसर छ र यसबाट उसको अभूतपूर्व परिवर्तन हुन सक्छ ।’

यस विषयमा उत्तर कोरियाली नेता किम जोङ उन ‘कन्भिन्स’ भएको र यसबारे आफूहरुले कुराकानी पनि गरिसकेको उनले बताए ।

तर सो प्रतिनिधिमण्डलमा को वा कुन तहका अधिकारीहरु सहभागी छन् भन्ने बारेमा भने केही बताइएको छैन । अमेरिकी प्रमुख अखबार वासिङ्टन पोष्टको आइतबारको संस्करणमा उक्त भ्रमणको पुष्टि गरिएको छ ।

उक्त अखबारले अमेरिकी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको र दुई कोरियाको सीमा क्षेत्रस्थित सैन्यबिहीन क्षेत्रमा दुई देशका अधिकारीहरुले भेटवार्ता थालेको जनाएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्